नेपाल चिकित्सक संघ चुनाव, आज पनि मतदान जारी

नेपाल चिकित्सक संघ चुनाव, आज पनि मतदान जारी


काठमाडौं ।

नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ ।

संघको केन्द्रीय कार्यालय काठमाडौंको भृकुटीमण्डपस्थीत प्रदर्शनीमार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताए । यादवले दुईचरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबारनै मतदान सम्पन्न भइसकेको बताए ।

पहिलो चरणमा तीन दिनसम्म भएको मतदानमा कुल २ हजार ८ सय ५१ मत खसेको उनले जानकारी दिए । दोस्रोचरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खसेको उनले बताए । संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहतर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशील समूह तर्फ डा. पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन् । त्यस्तै महासचिवमा २ जना र सदस्यमा २ जना चिकित्सकले स्वतन्त्र उमेद्वारी रहेको यादवले बताए ।

चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि मात्र मतगणना शुरु हुने यादवले जानकारी दिए । मतदान मंगलबारसम्म जारी रहने छ ।

Logo