कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी

कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी


काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ ।

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कुहिएको चामल पुरै नष्ट गर्न नदिइने बताए । उनले भने, ‘अहिले अख्तियारले छानबिन गरिरहेको छ, यसकारण हामीले केही चलाएका छैनौं, छानबिनपछि चामल प्रशोधन गरेर पशुदानाका लागि भए पनि प्रयोगमा ल्याउने योजना छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलगत्तै चामल प्रशोधन गर्ने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य कम्पनी गोदाममा कुहिएको चामलमाथि छानबिन सुरु गरेको दुई महिनासम्म कुनै कारबाही गर्न सकेको छैन ।

आयोगले ३ मंसिरमा प्रकाशित समाचारलाई लिएर छानबिन सुरु गरेको थियो । अख्तियारले छानबिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ९ मंसिरमा पत्र पठाएको थियो । पत्रमा कम्पनीलाई गोदाममा रहेको चामलको वार्षिक खरिद–बिक्री विवरण र कुहिएको चामलको किसिम र परिमाण तत्काल बुझाउन निर्देशन दिएको थियो ।

यसैगरी, गोदाममा मौज्दात अन्य खाद्यवस्तुको विवरण, अवस्था र गुणस्तर प्रमाणपत्रसहित उपलब्ध गराउन अख्तियारले कम्पनीलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार खाद्य कम्पनीले अख्तियारलाई सबै कागजपत्रसमेत बुझाइसकेको छ । तर, अख्तियारले लापर्वाही गर्ने कर्मचारीलाई अहिलेसम्म पनि कारबाही गर्न सकेको छैन । गोदाममै कुहिएको चामलको छानबिनकै लागि अख्तियारले गोदामबाट चामल लिएर १० वटा नमुना गुणस्तर जाँचका लागि गत ७ पुसमा खाद्य प्रविधि गुण नियन्त्रण विभागमा पठाएको थियो । विभागले गत १६ पुसमै १० वटा नमुना नै गुणस्तर फेल भएको रिपोर्ट पठाइसकेको छ ।
राजधानीबाट

Logo