नेतृत्वले नै विधान नमानेपछि अरू कसले मान्छ ?: मधु आचार्य (काभ्रे सभापति, नेपाली कांग्रेस)

नेतृत्वले नै विधान नमानेपछि अरू कसले मान्छ ?: मधु आचार्य (काभ्रे सभापति, नेपाली कांग्रेस)


काठमाडौं ।

मधु आचार्य नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति हुन् । लामो समय पत्रकारिताको अनुभवसमेत लिएका उनी कांग्रेसभित्र छुट्टै मत राख्ने मध्येका एक नेतामा पर्छन् । नेतृत्वले बेलाबेलामा गर्ने एकलौटी निर्णयका कारण पार्टीमा गुट उपगुट पैदा भएको र यसले समग्र पार्टीलाई नै कमजोर बनाएको आचार्यको अनुभव छ । पार्टीका पछिल्ला गतिविधिमा केन्द्रित रहेर यसपटक हामीले उनीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले नेता आचार्यसँग गरेको कुराकानी :

प्रश्न १
कांग्रेसले प्रतिनिधि सभाको सभामुखमा उमेद्वारी किन नदिएको हो ?

एउटा पात्र हुन्छ एउटा प्रवृत्ती हुन्छ । लोकतान्त्रिक पद्धतिले के भन्छ भने संसदमा एउटा उपयुक्त पात्रलाई सभामुखको उमेद्वार बनाइयो भने प्रतिपक्षले अर्को व्यक्ति खडा गर्नु हुँदैन । क्षमता पनि र छवि पनि भएको व्यक्ति छ भने प्रतिपक्षी दलले अर्को उमेद्वारी दिंदैन । तर कहिलेकाहिं सत्तापक्षले आफूसँग बहुमत छँदैछ, जो उठाए पनि जितिन्छ भनेर छवि बिग्रिएका मान्छेलाई अघि सार्यो भने यस्तो अवस्थामा प्रतिपक्षीले उमेद्वारी दिनु पर्ने हो । अहिलेको कुरा गर्ने हो भने जुन पात्रलाई उहाँहरुले अघि सार्नु भयो , उनी सरासर पनि गलत व्यक्ति हुन् । जसको अदालतमा गम्भिर प्रकृतिको मुद्दा विचाराधिन छ । यस्तो बेलामा प्रतिपक्षीले सभामुखको उमेद्वारी नदिएर त्यहि छवि बिग्रिएका व्यक्तिलाई सरासर सर्मथन गर्ने काम भयो । त्यो दुर्भाग्य हो । नेतृत्वको असक्षमता हो । हामीले गलत पात्रलाई स्वीकार गरेर अर्को गल्ती गरेकै हो । यसमा मेरो असहमती अहिले पनि छ ।

प्रश्न २
कांग्रेसका पछिल्ला विवाद र भातृ संगठनका क्रियाकलाप प्रति तपाईंको विचार के छ ?

नेतृत्वले विधि र विधानले पार्टी चलाउन थाल्छ भने त्यहाँ गुट, उपगुट, विवाद केहि हुँदैन तर एकलौटी तरिकाले चलाउन खोजेपछि असन्तुष्टि जन्मिन्छन् । फरक विचार आउँछन् । विधान र विवेक अनुसार पार्टी चल्दैन भने यस्ता विवाद जुनसुकै दलमा पनि हुनु स्वभाविक हो । विविध आशंकाले मान्छेले अरु विकल्प खोजी गरे जस्तै हो यो । सबैलाई समान आँखाले हेर्नु पर्छ , जब समान आँखाले हेरिंदैन, त्यहाँ दबाब दिनु पर्छ, दबाब दिनका लागि गुट त चाहिन्छ नै ।

प्रश्न ३
नेपाल विद्यार्थी संघमा पछिल्लो समय अध्यक्षको जिम्मेवारी दिइएको विषयले निकै चर्चा पाएको छ नि , अभिभावकलाई जिम्मेवारी दिइएको कि विद्यार्थीलाई ?

पार्टीको विधान लत्याएर भागवण्डाको राजनिती गर्दाको परिणाम हो यो । विधानमा ३२ वर्षको उमेर हद राख्ने पनि उहाँहरु नै अनि अहिले विधान उल्ट्याएर नेतृत्व दिने पनि उहाँहरु नै ? विधान नमान्ने भए किन बनाउने ? हिजो बहुमतले ३२ वर्ष उमेर हद कायम गर्ने विधान पास गरेपछि अहिले त्यहि विधान बनाउनेहरु नै ३२ वर्ष भन्दा वढी उमेरको कुरा गरिरहनु भएको छ । अहिले नेतृत्व दिइएका व्यक्ति ३२ बाट ३५ वर्षसम्म भएको भए ठिकै रहन सक्थ्यो तर यो त सरासर गलत हो, यो निर्णय प्रति मेरो आपत्ती छ । यस्तो निर्णयले हाम्रा कमजोरीहरु बाहिर ल्याउँछ र अरुले हेप्ने मौका पाउँछन् ।

प्रश्न ४
नेतृत्वको स्वार्थका कारण यस्तो निर्णय भएको भन्न खोज्नु भएको हो ?

पक्कै पनि हो । पदको भागवण्डा गर्नु हुँदैन । सक्षमता र योगदानको पनि कदर गर्नु पर्छ । विधान अनुसार पार्टी चलाउनु पर्छ । विधानमा पास गरेको कुरा नेतृत्वले नै नमान्ने भएपछि अरु कसले मान्छ ?

प्रश्न ५
सरकारले गएको २ वर्ष यता इतिहासकै सबैभन्दा धेरै राम्रा काम गरेको दाबी गरेको छ । एउटा प्रतिपक्षी दलको नेताले सरकारको दाबीलाई कसरी लिनु हुन्छ ?

निर्वाचितको हिसाबले भन्नु पर्दा यो सरकार इतिहासकै बलियो सरकार हो । यसमा कसैले पनि फरक मत राख्न सक्ने अवस्था छैन । तर जुन रुपमा काम हुनु पर्ने थियो, त्यो अनुसार दश प्रतिशत पनि भएको छैन , दाबी मात्रै गरेर हुन्छ र ? यो त हाँस्यास्पद कुरा हो । प्रधानमन्त्रीले बोलेका हुन् वा हाँस्यकलाकारले बोलेका हुन् छुट्याउन गाह्रो छ । म त भन्छु यो दुई वर्षमा राष्ट्रियता सबैभन्दा कमजोर भएको छ । काम होइन कुरा धेरै भएको छ । नयाँ नयाँ काण्ड, हत्या, बलात्कार लगायतमा रेकर्ड राखेको भन्ने कुरामा चाहिं सहमती हुन सकिन्छ । नत्र जनताले महसुस हुने गरि काम भएको छैन ।

Logo