देशभर चिसो वृद्धि, विहिबार उपत्यकामा वर्षकै न्यून तापक्रम

देशभर चिसो वृद्धि, विहिबार उपत्यकामा वर्षकै न्यून तापक्रम


काठमाडौं ।

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । विहिबार उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको थियो । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । विहिबार उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरियो ।

तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ ।

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायत जिल्लामा हुस्सु/कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै महाशाखाले बिहीबार आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै तराईका भू–भागमा हिजो भन्दा आज मौसममा क्रमिक सुधार हुँदै गए तापनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न आग्रह गरेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो । सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । सबै भन्दा बढी नेपालगञ्जको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।

Logo