चौधरीको उपन्यास ‘दुलारी’ विमोचित

चौधरीको उपन्यास ‘दुलारी’ विमोचित


मुना चौधरीको उपन्यास दुलारी शनिबार एक समारोहका बीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्व र विकासकी अध्येता प्रियंका कापरले सार्वजनिक गरेका छन् । चौधरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका साँस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ ।

उपन्यासमाथि बोल्दै लेखक पाण्डेले मधेश आफ्नो पनि लेखनको विषय भएता पनि चौधरीजति मिहिन ढंगले आफूले लेख्न नसकेको बताए । लु र उलार कृतिका लेखक पाण्डेले मधेशी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको दुलारी बाहेकको कृति अहिलेसम्म नपढेको बताए । राष्ट्रिय गानले सयौं थुँगा फूूलका हामी यौटै माला नेपाली भनेर अनेकताभित्र एकताको महिमा मण्डन गरे पनि सीमान्तकृत समुदायका संघर्ष, कथा र व्यथालाई मुना चौधरीजस्ता लेखकले उजागर गर्ने गरेको बताए ।

अर्की वक्ता कापरले दुलारी उपन्यासले मुसहर समुदायका बारेमा पाठकलाई थप खोज्न बाध्य बनाउने उल्लेख गरिन् । छुवाछुतजस्ता सामाजिक कुरीति र अपराधलाई ठाडै गर्नहुन्न नभनी उपन्यासकी मूूल पात्र दुलारीले गरेका प्रश्नले पाठकलाई झक्झकाउने विश्वास व्यक्त गरिन् । मानव सूूचकांकमा पुछारतिर रहेको मुसहर समुदायलाई यो उपन्यासले बहसको केन्द्रमा तान्ने उनले बताइन् ।

लेखक चौधरीले आफ्नो लेखन यात्राको बारेमा चर्चा गर्दै मुसहर समुदायको दुःख आफूले सानैदेखि देखेका हुनाले उनीहरूका कथा लेख्न सहज भएको सुनाइन् । आफै लेख्न नसकेका समुदायको कथा लेख्नु लेखकको जिम्मेवारी भएको उनको कथन थियो ।

२९० पृष्ठको उपन्यासको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ ।

Logo