उपनिर्वाचनलगत्तै नयाँ सभामुखको खोजी

उपनिर्वाचनलगत्तै नयाँ सभामुखको खोजी


काठमाडौं,

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचन लगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनु पर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष नेतासँग माग गरेका छन् ।

तुम्बहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने प्रस्ताव असफल भएसँगै सभामुख बन्ने सम्भावना बढ्दै गएको नेकपाका एक नेताले बताए।संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त भए पनि सभामुखको अनुस्थितिमा उपसभामुखले संसद् सञ्चालन गर्ने कानुनी प्रावधान रहेकाले उपसभामुख तुम्बाहाम्फेले मंसिर अन्तिममा बैठक बोलाउने तयारी भएको बताउनु भएको छ।

प्रम ओली डिस्चार्ज भएसँगै परामर्श गरी बैठक बोलाउने बताउँदै उहाँले भन्नुभयो– ‘संसद्को नियमित काम अगाडि बढाउन मंसिर अन्तिममा बैठक बोलाउन खोजिएको हो, सरकार र राजनीतिक दलसँगको सहमतिमा मिति तय हुन्छ।’

कानुनी व्यवस्था अनुसार सत्तारुढ दल नेकपाले सभामुख र उपसभामुख दुवै पद लिन मिल्दैन । नेकपाले सभामुख लिएर उपसभामुख प्रतिपक्ष दललाई दिने नीति लिएको छ। भावी सभामुखका लागि उपसभामुख तुम्बाहाम्फेसँगै नेकपा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुभासचन्द्र नेम्वाङको पनि चर्चा शुरु भएको छ।

संसद्को विकास तथा प्रविधि समितिका सभापतिसमेत रहनु भएका नेकपाका नेतृ कल्याणी खड्काले सभामुख नरहेको अवस्थामा स्वाभाविकै रुपमा उपभासमुख नै सभामुख हुने बताउँदै भन्नुभयो– ‘वर्तमान उपसभामुख नै सभामुखको बलियो हकदार हो।’

पूर्वमाओवादी समूहले यस अघि आफ्नो भागमा परेकाले सभामुख आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। तर पार्टी एकीकरण भइसकेको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउने गृहकार्य शुरु भएको बताइन्छ। भोलि शनिबार हुने उपनिर्वाचन लगत्तै सभामुख चयन गर्ने नेकपाले तयारी गरेको छ।
नेपाल समाचारपत्रबाट

Logo