टुँडिखेल बचाउन मेयरलाई चिठ्ठी

टुँडिखेल बचाउन मेयरलाई चिठ्ठी


काठमाडौं,

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको व्यस्तता निकै बढेको छ । उनलाई भेट्न त्यति सजिलो छैन। जनप्रतिनिधिले दिउँसो २ बजेपछिको समय सर्वसाधारणका लागि दिनुपर्ने नियम छ। तर गुनासो पोख्न महानगर पुग्ने स्थानीयले उनलाई विरलै कार्यालयमा भेट्छन् ।

अकुपाई टुँडिखेल अभियानका अभियन्ता सोमबार मेयर शाक्यलाई भेट्न सुन्धारा स्थित महानगरपालिकाको कार्यालयमै पुगे। उनीहरूले शाक्यसँग भेटेर टुँडिखेल अतिक्रमणप्रति ध्यानाकर्षण गराउन खोजेका थिए।

अघिल्लो दिन नै निवेदन दिएर मेयरलाई भेट्ने समय जानकारी गराइएको थियो। तर शाक्य त्यस दिन कार्यालयमा उपस्थित नै भएनन्। प्रशासनका कर्मचारीले उनी बिहानैदेखि कार्यालय नआएको बताए। दिनभरि मेयरका के कस्ता कार्यक्रम छन् भन्ने टिपोटसमेत कार्यालयमा थिएन । आधा घण्टा पर्खेपछि अभियन्ताहरूले महानगरका प्रशासन प्रमुख नमराज ढकालसँग भेटेर टुँडिखेल संरक्षण तथा प्रवद्र्धनका लागि उत्तरदायी हुन आग्रह गर्दै पत्र बुझाएका छन्।

कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल राजनीतिक परिवर्तनसँगै सरकार र सेनाको अतिक्रमणले खुम्चिँदै गएको छ। सार्वजनिक जग्गा टुँडिखेल काठमाडौंको फोक्सो भनिए पनि अस्थायी बसपार्कदेखि पार्किङ र व्यापारिक स्टलले कुरुप बनेको छ।

वीर अस्पताल र दरबार हाइस्कुलको निर्माणाधीन सामाग्री टुँडिखेलमै थुप्रिएका छन्। बसपार्क बनाएर ढलान गरिएको छ। कामदारका लागि अस्थाई वासस्थल बन्दा ऐतिहासिक, राजनीतिक र धार्मिक महत्वको टुँडिखेलले वास्तविक स्वरूप र आकार गुमाएको छ। तत्कालका लागि टुँडिखेलका अस्थायी संरचना हटाउन माग गर्दै अभियन्ताले ध्यानाकर्षणपत्र बुझाएको सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धी तुलाधर बताउँछन्।

‘सार्वजनिक सम्पत्ति मास्ने काम जारी राखे सन्ततिले टुँडिखेल देख्न पाउने छैनन्,’ अभियन्ता तुलाधरले भने, ‘त्यसैले यसको संरक्षणमा महानगरले ध्यान दिओस् भन्ने चाहेका छौं।’ संविधानको धारा ४८ (घ) ले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने कर्तव्य तोकेको भन्दै उनले टुँडिखेललाई अतिक्रमणबाट स्वतन्त्र बनाउन नागरिक स्तरबाट आवाज उठेको बताए।
अन्नपूर्णबाट

Logo