काभ्रे बस दुर्घटना अपडेट : एक जनाको मृत्यु , २४ जना घाइते

काभ्रे बस दुर्घटना अपडेट : एक जनाको मृत्यु , २४ जना घाइते


काभ्रे,

काभ्रेको नमोवुद्धमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा आज अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा नमोबुद्ध ६ का रामकृष्ण कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकबाट करीब १०० मिटर तल खस्दा बसमा यात्रारत अन्दाजी वर्ष ६५ का कार्कीको मृत्यु भएको छ ।

बाँकी घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेकामा तीन जनाको थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको र बाँकी २१ को धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ । काठमाडौँ सिफारिस गरिएका नीरज कुँवर, विवेक तामाङ र राजु तामाङ तीनै जना तेमालका रहेका प्रहरीले जनाएको छ ।

Logo