सिन्धुपाल्चोक बस दुर्घटना : एकै ठाउँका सातको निधन भएपछि गाउँनै स्तब्ध

सिन्धुपाल्चोक बस दुर्घटना : एकै ठाउँका सातको निधन भएपछि गाउँनै स्तब्ध


सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बडहरेमा भएको यात्रुबस दुर्घटनामा ज्यान गुमाएका ११ मध्ये तत्कालीन भोटसिपा गाविसका मात्रै सात स्थानीयको निधन भएको छ। दुर्घटनाले सिंगो गाउँलाई नै स्तब्ध बनाएको छ।

‘निकै अप्रिय घटना भयो,’ स्थानीय राजेन्द्र आचार्यले भने, ‘गाउँमा रुवावासी चलेको छ। सिंगो गाउँ स्तब्ध भएको छ।’ इन्द्रावती गाउँपालिका–९ का तीन र १० नम्बर वडाका चार जनाको ज्यान गएको हो । यी दुई वडा साविक भोटसिपा गाविस हो। घाइतेमध्ये अधिकांश भोटसिपाकै हुन् । उल्लासपूर्वक दसैँ पर्व मनाएका भोटसीपावासीलाई दुर्घटनाले दुःखी बनाएको छ।

अकल्पनीय दुर्घटनाले गाउँवासीको खुशी खोसेको स्थानीय सन्तोष भट्टराई सुनाउँछन् । ‘दसैँ मुड नसकिँदै निम्तिएको घटनाले कसैको मन सम्हालिएको छैन,’ निराश हुँदै उनले भने । दुर्घटनामा इन्द्रावती–९ का हिरा श्रेष्ठ, बिनोद लम्साल, जुनाखेवी लम्साल तथा इन्द्रावती–१० का रितेश आचार्य, सुनिता पुर्कोटी, सुवास अधिकारी र मीना मगर छन् । चार मृतक मात्र भोटसिपा बाहिरका हुन्।

बस गुडेको एक घण्टा नबित्दै दुर्घटनामा परेको थियो। दसैँका यात्रु बोेकेको सिन्धु हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान साढे ९ बजेतिर इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेको पिकुमोडमा दुर्घटना भएको थियो । क्षमताको तेब्बर एक सयभन्दा धेरै यात्रु बोकेको बस कच्ची सडकबाट करिब दुई सय मिटर तल खसेर रुखमा अड्किएको थियो।
नागरिकबाट

Logo