आजदेखि सातै प्रदेशमा टेलिकमको फोरजी सेवा

आजदेखि सातै प्रदेशमा टेलिकमको फोरजी सेवा


काठमाडौं,

नेपाल टेलिकमले फोरजी एलटीई सेवाको नेटवर्क (आज) बुधबारदेखि सातै प्रदेशका प्रमुख सहरहरूमा विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत औपचारिक सुरुवात गर्ने टेलिकमले जनाएको छ । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख सहरमा विस्तार गरिएको छ ।

फोरजी एलटीई सेवाको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरूको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरू र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछन् ।

विस्तारित फोरजी एलटीई सेवा एलटीई एड्भान्सड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिनेछ । हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी एलटीई सेवा हालको मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरूमा सेवा पुर्याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने कम्पनीको दाबी छ । टेलिकमले देशमै पहिलो पटक ०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी(एलटीई सेवाको सुरुवात गरेको थियो ।
कारोबारबाट

Logo