बारपाक भूकम्प स्मृति स्तम्भको निर्माण ५० प्रतिशत सकियो

बारपाक भूकम्प स्मृति स्तम्भको निर्माण ५० प्रतिशत सकियो


काठमाडौं,

चार वर्षअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणका लागि गोरखाको बारपाकमा बन्दै गरेको स्तम्भ निर्माण लगभग आधा सकिएको छ ।

‘बारपाक भूकम्प स्मृति स्तम्भ’ नाम दिइएको यस स्मारकको निर्माण सोचे अनुसार अगाडि नबढे पनि अहिलेसम्म ५० प्रतिशत निर्माण पूरा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका प्रमुख सुनिता श्रेष्ठले राष्ट्रले भोगेको भूकम्पको सो दुःखद घडी र भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्तम्भ बन्न लागेको बताउनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा बन्दै गरेको भूकम्प स्मृति स्तम्भको निर्माण ५० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

सो ठाउँमा भूकम्प स्मृति स्तम्भसहितको भूकम्प स्मारक पार्कसमेत निर्माण गर्न लागिएको छ । स्तम्भका खम्बाहरू उठाई ‘स्लोप’ ढलानको कार्य सम्पन्न भइसकेको जनाइएको छ । उहाँले स्तम्भ तथा पार्क निर्माणका लागि अहिले ‘ल्यान्ड डेभलपमेन्ट’को काम भइरहेको बताउनुभयो । अहिले सो स्मृति स्तम्भसम्म पुग्न पहुँच मार्ग निर्माण भइरहेको छ । बाटोमा कल्भर्ट निर्माणसमेत गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उहाँको भनाइ छ ।
गोरखापत्रबाट

Logo