पुडासैनी प्रकरणमा अदालतको ८ प्रश्न

पुडासैनी प्रकरणमा अदालतको ८ प्रश्न


  • रामजी बलामी-

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको फैसलामा जिल्ला अदालत चितवनले थुप्रै आशंका व्यक्त गरेको छ । १३ पृष्ठ लामो फैसलामा सरकारी वकिलले पेश गरेका मिसिलहरुमाथि अदालतले विभिन्न कोणबाट विश्लेषण गर्दै अनुसन्धाकर्तालाई केही गहन प्रश्नहरु गरेका छन् । यिनै आशंका र प्रश्नहरुका बीच न्यायाधीश हेमन्त रावलको इजलासबाट सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई रिहा गरिएको थियो । सरकारी वकिलले पेश गरेको मिसिल र कारवाही मागदावीको विश्लेषण गर्दै अदालतले उब्जाएको मुख्य ८ प्रश्न यस्ता छन् ।

१. भिडियो खिच्दा को थिए ?

सरकारी वकिलले घटनाको दरिलो प्रमाणका रुपमा पेश गरेको मृतक पुडासैनीको भिडियोमाथि नै अदालतले आशंका व्यक्त गरेको छ । भिडियो रेकर्ड हुँदा पुडासैनीले अरु व्यक्तिको सहयोग लिएको अदालतको ठहर छ । ‘भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना वृद्ध बुबा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुःखको पश्चात्ताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रणाम दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन,’ आदेशमा भनिएको छ ।

२. भिडियो खिचिएको र आत्महत्याको समयान्तर कति ?

अदालतले मृतक पुडासैनीले भिडियो रेकर्ड गराएको समय र मृत्यु भएको समय फरक पाइएको तर कति समयको फरक भन्ने कुरा कहींकतै उल्लेख नभएको जनाएको छ । जसले गर्दा भिडियोमा उल्लेखित कुराहरु ‘words before death of dying person′ थियो वा थिएन भनी यकिन गर्न नसकिएको फैसलामा उल्लेख छ । ‘मृत्युकालीन घोषणा गर्दाको अवस्था र निजले आत्महत्या गरी देहत्याग गरेको अवस्था एउटै नभई फरक देखिएकाले यो फरक देखिने अवस्थाले भिडियोमा व्यक्त गरेको भनाइ नै ‘words before death of dying person′ थियो वा थिएन भनी यकिन गर्न भिडियो रेकर्ड गरेको समय र निजले आत्महत्या गरी देहत्याग गरेको समयको अन्तर छुट्याउन सबुतको रुपमा रहेको भिडियो र मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको समय उल्लेख हुनु आवश्यक देखिन्छ जुन उल्लेख भएको देखिँदैन ।’ फैसलामा भनिएको छ ।

३. मृत्युकालीन घोषणालाई निर्णायक प्रमाण कसरी मान्ने ?

मृतकले रेकर्ड गराएको भिडियोलाई निर्णायक मान्न नसकिएको अदालतको ठहर छ । भिडियो रेकर्ड गर्दा भित्री वस्त्रमा देखिनु र आत्महत्या गर्दा लासमा पाइन्ट, सर्टसहितको पहिरनमा देखिनुले मृतकको परिस्थितिको बदलाको अवस्थापछिको मृत्युकालीन घोषणालाई निर्णायक प्रमाणका रुपमा ग्रहण गर्न नसकिने अदालतको फैसलामा उल्लेख छ । त्यस्तै घटनास्थलमा मृतकबाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषणापछि आत्महत्या गर्दा घटनास्थलमा रहेको अर्को व्यक्तिले निजलाई आत्महत्या गर्नबाट रोक्न, बचाउन, हारगुहार गर्नसक्ने तत्कालीन विद्यमान अवस्थामा पनि सो नभएको हुँदा मृतकले भिडियो रेकर्डको लगत्तै आत्महत्या भन्न सकिने अवस्था नभएको अदालतको ठहर छ ।

४. भ्वाइस रेकर्ड खोई ?

अनुसन्धानका क्रममा सरकारी वकिलले प्रतिवादीहरुबीच पटक पटक फोन सम्पर्क भएको कल डिटेल अदालतमा पेश गरेको थियो । तर अदालतले लामिछाने, कँडेल र पुडासैनी एउटै कार्यालयमा काम गर्ने सहकर्मी भएको र पछि पूर्व सहकर्मी भएको हुनाले फोन सम्पर्क हुनु अस्वाभाविक नभएको ठहर गरेको छ । त्यस्तै अस्मिताको हकमा मृतकले नै प्रेम सम्बन्ध रहेको भनी स्विकारेको हुँदा फोन सम्पर्क स्वाभाविक भएको जनाएको छ । उनीहरुबीच भएको फोन सम्वादको ‘भ्वाइस रेकर्ड’ उपलब्ध नभएको अवस्थामा कल डिटेलकै आधारमा उनीहरुबीच अवान्छित सम्वाद भएको भन्न नसकिने अदालतको ठहर छ ।

५. आत्महत्या गरेको व्यक्तिको शरीरमा कसरी घाउचोट लाग्यो ?

अदालतले मृतक पुडासैनीको शरीरमा लागेको घाउचोटको बारेमा पनि आंशका व्यक्त गरेको छ । ‘घटना हुँदाका बखत यी प्रत्येवादीहरुको घटनास्थलमा उपस्थिति भएको भन्ने देखिएन । मृतकको लासमा घाउचोट भएको देखिने मिसिल संलग्न मृतकको फोटोले झुन्डिएर आत्महत्या गरेको व्यक्तिको शरीरमा के कसरी घाउचोटको अवस्था रह्यो भन्ने अनुसन्धानबाट खुलेको देखिएन ।’ फैसलामा उल्लेख गरिएको छ ।

६. दुई महिनाअघिको तनावलाई कसरी विश्वासयोग्य मान्ने ?

मृतक पुडासैनी करिब दुई महिनादेखि अर्कै संस्थामा काम गरिरहेकाले उनको आर्थिकता निर्भरता र सोसँग सम्बन्धित तनाव प्रत्येवादीहरुसँग सम्बन्धित नरहेको अदालतको ठहर छ । ‘मृतकले आफुलाई यी प्रत्येवादीहरुबाट प्राप्त हुने न्यूनबेतनबाट आफूले बैंकको ऋणको किस्ता तिर्न नसकी आर्थिक समस्याले डिप्रेसनमा समेत पुगेको भनी निज स्वयंले उल्लेख गरेको र निज हाल यी प्रत्येवादीहरुसँगै काम गरेको, निजहरुले नै निज मृतकलाई पारिश्रमिक दिनुपर्ने अवस्था नभई निज अर्काे टेलिभिजनमा विगत दुई महिनादेखि अलग्गै काम गरिरहेको भन्ने अवस्थाले निजको आर्थिक निर्भरता र सोसँगको तनाव यी प्रत्येवादीहरुसँग सम्बन्धित रहेको भन्ने देखिएन ।’ फैसलामा उल्लेख छ । त्यस्तै अदालतले दुई महिनाअघि दिएको तनावले अहिले आत्महत्या गर्नुपरेको भन्ने भनाइलाई समय सान्दर्भिक नभएको जनाएको छ ।

७. उद्वेलित मनोदशा कि प्रत्येवादीहरुको कार्य व्यवहार ?

अदालतले मृतकको आत्महत्या उनकै उद्वेलित मनोदशा हो वा प्रत्येवादीहरुको कार्य व्यवहार भन्ने कुरा स्पष्ट नभएको उल्लेख गरेको छ । अस्मितासँगको मृतकको विवाहेतर सम्बन्धबारे लामिछाने र कँडेलले थाहा पाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा सार्वजनिक गरिदिने भयले आत्महत्या गरेका हुन् भने उनको आफ्नै उद्वेलित मनोदशा जिम्मेवार थियो वा यी प्रत्येवादीहरुको कार्य व्यवहार जिम्मेवार थियो भन्ने कुरा अनुसन्धानबाट स्पष्ट नखुलेको अदालतको ठहर छ । अर्काे कुरा प्रमाणस्वरुप पेश गरिएको भिडियोमा भनिए अनुसार प्रत्येवादीहरुले त्यसरी कुनै कसुर भए गरेको थियो वा थिएन भन्नेतर्फ अनुसन्धान नभएको अदालतले जनाएको छ।

८. भिडियोको विश्वसनीयतामा शंका

मृतक पुडासैनीको भिडियोलाई अनुसन्धानमा संलग्न नभएका अनधीकृत व्यक्तिहरुले सार्वजनिक गरेकाले भिडियोको विशुध्दता र विश्वसनीयतामा अदालतले शंका व्यक्त गरेको छ । ‘भिडियोको सन्दर्भ सच्चाइका बारेमा थप विशेषज्ञ परीक्षण नगरी नगराई सोही प्रमाणका आधारमा मात्र यी प्रत्येवादीहरुलाई मुद्दा पूर्पक्षका लागि थुनामै राखिनुपर्छ भनी जाहेरवाला र वादी सरकारका तर्फबाट बहस गर्ने विद्वान कानून व्यवसायी र विद्वान जिल्ला न्यायाधिवक्ताको बहस बुँदालाई स्वच्छ सुनुवाइको सिद्धान्त एवं न्याय र कानूनको रोहबाट उपयुक्त मान्न सकिएन ।’ फैसलामा उल्लेख छ ।

फैसलाको पूर्णपाठ

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Aadesh_Aatmahatya_Garna_Durushan.pdf&

Logo