भोको बस्नुको पनि फाइदा छ नि ! जान्न चाहनुहुन्छ ?

भोको बस्नुको पनि फाइदा छ नि ! जान्न चाहनुहुन्छ ?


भोकै बस्नु, व्रत बस्नु, उपवास बस्नु । सामान्यतः यी तीन कुरालाई हामी एउटै हुन् भन्ने बुझ्दछौँ । यद्यपि यी तीन कुराको बाह्य स्वरूप केही नखाई बस्नुसँग सम्बन्धित भए पनि अन्तर्य भने फरक छ । यहाँ यिनको फरक बुझाउन नलागी भोकै रहनुका फाइदा बताउन खोजिएको छ ।

भोकै बस्दा शरीरको दशा सुध्रनुका साथै मानसिक रूपमा समेत धेरै राम्रो हुन्छ । तर यसको अर्थ सधै भोको बस्ने होइन । निश्चित अवधिमा नियमपूर्वक भोको बस्दा शरीरका अवयवहरू सन्तुलित हुन्छन् । विश्वमा खान नपाएर मर्ने मानिसभन्दा धेरै खाएर मर्ने मानिसको संख्या बढी हुनुले पनि हप्ता वा पन्ध्र दिनको अन्तरमा भोको बस्दा केही फरक नपर्ने बरु राम्रो परिणाम देखापर्ने कुरा बुझ्न सकिन्छ ।

भोको बस्नुलाई धर्मसँग जोडेर शरीर शुद्धि गर्ने प्रचलन विश्वका धेरैजसो धर्ममा पाइन्छ । सनातन हिन्दू धर्ममा पनि साउन महिना सुरु भएसँगै भोको बस्ने दिनहरूको संख्या वृद्धि हुन्छ । वैज्ञानिक दृटिले पनि साउनको महिना अझ भनौं मध्य वर्षायाममा भोको बस्नु भनेको स्वास्थ्य लाभ लिनु हो । यो याममा सादा, सुपाच्य, शाकाहारी एवं सात्विक भोजन ग्रहण गर्ने, माछामासु, मदिरा, मसलेदार परिकार त्याग्ने तथा हप्तामा एक पटक भोको बस्ने गर्नाले शरीरलाई फाइदा गर्छ । भोको बसेका समयमा पनि सीमित मात्रामा फलफूल र दूध खान भने छुट छ तथापि पानीबाहेक अन्य कुरा नखाई भोको बस्नु राम्रो मानिन्छ ।

कसरी हुन्छ राम्रो ?

–हप्तामा एक दिन भोको बस्दा शरीरको आन्तरिक शुद्धीकरण हुन्छ । यसबाट शरीरमा विद्यमान विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीर स्वस्थ हुन्छ ।
–१५ दिनमा एकपटक भोको रहँदा अपच, ग्याँस, कब्जियत, डायरिया, एसीडीटी, जलनजस्ता समस्यामा राहत मिल्छ । यस्ता समस्या हुनेले आफ्नो शरीरको प्रकृति हेरी फलफूलको सेवन गर्न सक्छन् ।
–२१ दिनमा एकपटक भोको बस्दा शरीरमा ब्लडप्रेसर र कोलेस्ट्रोलको लेभल कम हुन्छ, फलस्वरूप यस्ता स्वास्थ्य समस्यामा राहत मिल्छ ।
–३० दिनमा एकपटक भोको बस्नु मुटुका लागि फाइदाजनक हुन्छ किनभने यसो गर्दा कोलेस्ट्रोल कम हुन्छ, जुन मुटुसम्बन्धी समस्याको प्रमुख कारण हो ।
–पाचन प्रणालीले राम्रोसँग काम गरोस् भन्नाका लागि पनि सातामा एक दिन भोजन त्याग गर्नु उत्तम हुन्छ । यसो गर्दा पाचन प्रणालीलाई आराम मिल्छ र यो राम्रो कार्य गर्नका लागि तयार हुन्छ ।

याद राख्नुपर्ने कुरा

–भोको बस्दैमा आफ्नो मनोकामना पूरा हुन्छ, धर्म प्राप्त हुन्छ भनेर सोच्नु भ्रम हो । आफ्नो कामना पूरा गराउन दिनभर खाली पेट बस्ने र धुपबत्ती बाल्ने काम त्यसबेला आडम्बर हुन्छ, जब यसलाई विधिपूर्वक सम्पन्न गरिदैन ।

–व्रत तथा उपवासको व्यापक अर्थ छ । यो भोको बस्नुसँग मात्रै सम्बन्धित छैन ।

–अत्यधिक शारीरिक श्रम गर्नुपर्ने कार्यमा संलग्न व्यक्तिहरूले भने भोको नबस्नु नै राम्रो हुुन्छ ।

–भोको बस्दा कृतज्ञता, समर्पण एवं त्यागको भाव जागृत हुन्छ । यसले आत्मचिन्तनमा लाग्न प्रेरित गर्छ ।

–भोको बस्न सुरु गर्नुअघि र गरिसकेपछि अपच हुने खानेकुरा सेवन गर्नु हुँदैन । मासु, मदिरा वा मसलादार खाना खाइयो भने भोको बस्नुको खास लाभ मिल्दैन । भोको बस्नुअघि पनि हल्का वा सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । भोको बसिसकेपछि खानेकुरा थाल्दा झोलयुक्त वा नरम खानेकुराबाट सुरु गर्नुपर्छ । एकै पटक धेरै बोझिलो हुने खानेकुरा सेवन गर्नु हानिकारक हुन्छ ।

–एक दिन छाक छाड्दैमा केही हुँदैन । महिनाभर सात्विक एवं सुपाच्य खानेकुरा सेवन गर्ने, हप्ता दिनमा एक पटक भोको बस्ने गर्नुचाहिँ प्रभावकारी हुन्छ ।

–भोको बसेका बेला सकेसम्म मनमा नकारात्मक भाव आउन दिनुहुँदैन । मनलाई सकारात्मक र खुसी तुल्याउनुपर्छ । रिस, द्वेष, घमण्ड, अहंकार, लोभ, वासना त्याग्ने प्रयास गर्नुपर्छ ।

Logo