शिक्षक लाईसेन्स विज्ञापनको फारम भर्ने म्याद थप

शिक्षक लाईसेन्स विज्ञापनको फारम भर्ने म्याद थप


भक्तपुर । शिक्षक लाईसेन्सको लागि खोलेको विज्ञापनको फारम भर्ने म्याद थप गरिएको छ । शिक्षक सेवा आयोगले एक साता समयावधि थप गरेको हो । यस अघि असार २२ गते सम्म फारम भर्न सकिने गरी खुलेको विज्ञापनमा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिनेछ ।

साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन अनुमती पत्र (लाईसेन्स) का लागि खुलेको विज्ञापन स्थगन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भोली पल्ट आयोगले उक्त निर्णय गरेको हो ।

उक्त विज्ञापन तत्काल स्थगन गरी कक्षा ११ र १२ मा वर्षौंदेखि अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी अनुमती पत्र प्राप्त शिक्षकहरुलाई विना सर्त स्थायी अध्यापन अनुमती पत्र प्रदान गर्न माध्यमिक विद्यालय शिक्षक यूनियनले तिन दिने अल्टिमेटमसहित आईतबार ध्यानाकर्षण पत्र बुझाएको थियो ।

विज्ञापन नं. ३५ बमोजिमको अध्यापन अनुमती पत्रका सम्वन्धमा यूनियनको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञापनमा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने विषय र पाठ्यक्रमलाई पूर्ण वेवास्ता गरी असम्बन्धित विषयवस्तुहरु मात्र समेटिएको जनाएको छ ।

आयोगले विद्यमान ऐन नियम कानूनका आधारमा रहेर काम गर्ने भन्दै आयोगका अध्यक्ष ताना गौतमले सोही अनुसार विज्ञापन गरिएको बताए । २०७३ साल असार १५ गते भएको शिक्षा ऐनको संशोधनले गरेको व्यवस्थाका आधारमा विज्ञापन खोलिएको बताए ।

यो बीचमा सर्भरमा केही समस्या आएकोले अनलाईन फारम भर्नेहरुलाई समस्या भएको गुनासो आएपछि म्याद थप गरिएको उनले बताए । दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिनेछ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने गरी विज्ञापन खोलिएको थियो ।

Logo