मोदीलाई काठमाडौंमा पनि साँचो बुझाइने !

काठमाडौँ

काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार महानगरको कलात्मक साँचोको प्रतिक दिने भएको छ । दुई दिने नेपाल भ्रमणका क्रममा मोदीलाई मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दनका क्रममा ‘काठमाडौंको कलात्मक साँचो’ हस्तान्तरण गर्ने भएका हुन् ।

शाक्यले नागरिक अभिनन्दन पत्र वाचन गरी मोदीलाई उक्त पत्र प्रदान गर्नेछन् । साँचो पाएपछि मोदी काठमाडौं महानगर भित्र जहिले आउँदा पनि आफैं खोली प्रवेश गर्न पाउने भन्ने अर्थ लाग्ने महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए । रंगरोगन र सरसफाई गरी चिटिक्क बनाइएको राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्री मोदी ठिक तीन बजे पुग्नेछन् ।

आधा घण्टा अघि नेपालका प्रधानन्यायाधीश दीपकराज जोशी सभागृह पुग्ने कार्यक्रम छ । यसैगरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू र राजदूतहरूको सहभागिता हुनेछ । मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र महानगरपालिकाका मेयर शाक्यले स्वागत गर्नेछन् । ४५ मिनेटको कार्यक्रममा मोदीले नागरिकलाई सम्बोधन गर्नेछन् । परराष्ट्रमन्त्री ज्ञवालीले मन्तव्य राख्नेछन् भने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले धन्यवाद ज्ञापन गर्नेछन् ।
अन्नपूर्णबाट