मेरो चिठी कहाँ पुग्यो ?

मेरो चिठी कहाँ पुग्यो ?


काठमाडौं,

तपाईंले हुलाकमार्फत पठाएको चिठीपत्र सम्बन्धित ठाउँमा कति दिनमा पुग्छ ? आज कहाँ पुग्यो होला ? भोलि कहाँ पुग्नेछ ? कहींकतै अलमल भयो वा अड्कियो ? विगतमा यस्ता जानकारी पाउन सकिन्नथ्यो । लेखिएकै ठेगानामा चिठी पुग्दैन या बाटोमै हराउँछ कि भन्ने चिन्ताले सताउँथ्यो प्रेषकलाई ।

तर अहिले यसबारे कम्युटरको स्क्रिनमा घरबाटै जानकारी पाइनेछ । यसका लागि हुलाक सेवा विभागले विशेष ट्र्याकको व्यवस्था गरेको छ । गोश्वारा हुलाक कार्यालयको ‘डब्लूडब्लूडब्लु डट जीपीओ डट जीओभी डट एनपी’ मा लग अन गरी डोमेस्टिक ट्र्याकिङमा चिठीको कोड नम्बर राखेपछि सबै जानकारी प्राप्त हुन्छ ।

हुलाक सेवा विभागले देशका सबै जिल्लामा चिठी र पार्सल ट्र्याकिङ गरेपछि प्रयोगकर्ताले सहज सेवा पाएका छन् । साथै चिठी हराउने वा समयमै नपुग्ने समस्या हटेको छ । हुलाक सेवालाई जिम्मेवार र कर्मचारीलाई जबाफदेही बनाउन प्रविधिले सघाएको गोश्वरा हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले बताए । ‘यो प्रविधि प्रयोगमा आएपछि चिठी हराएको गुनासो आएको छैन’, उनले भने ।

नेपालमा चिठीपत्रमार्फत खबर, सूचना र समाचार आदानप्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदीप सिंहले वि.सं.१९३५ सालमा नेपाल हुलाक घर स्थापना गरेका थिए । एक सय ४१ वर्षे इतिहास बोकेको हुलाक ढिलो गरी प्रविधिसँग हिँड्न खोजेको छ । तीन वर्षदेखि यस्तो प्रविधिबाट स्वदेशभित्र चिठी र पार्सलको ट्र्याकिङ सुरु भएको हो । अहिले देशका ७७ वटै हुलाकमा यो प्रविधि पुगेको छ ।
अन्नपूर्णबाट

Logo