एउटा चित्रले जुराएको सौभाग्यः छात्रवृत्तिदेखि वीरेन्द्रको गुरुसम्म (भिडियो आर्टिकल)

एउटा चित्रले जुराएको सौभाग्यः छात्रवृत्तिदेखि वीरेन्द्रको गुरुसम्म (भिडियो आर्टिकल)


एक शसक्त चित्रकार हुन् विजय थापा । ‘हुने विरुवाको चिल्लो पात’ भने झै सानैदेखि चित्रकलामा रुचि राख्ने उनी १९ वर्षमा नै चित्र कोर्न माहिर भैसकेका थिए । त्यसैले पनि होला उनलाई तत्कालिन युवराज वीरेन्द्र बीर विक्रम शाहलाई चित्रकला सिकाउने सौभाग्य प्राप्त भयो ।

आज जेठ १९ गते । नेपाली ईतिहासको एउटा कालो दिन अर्थात उनै राजा वीरेन्द्रको सपरिवारको हत्या भएको दिन । यसै सन्दर्भमा हामीले वरिष्ठ चित्रकार थापासँग वीरेन्द्रको स्वभाव, क्षमता, व्यवहार ईत्यादिका बारेमा कुराकानी गरेका छौ । थापाले आफूलाई राजाले गर्ने मायादेखि वीरेन्द्रलाई चित्रकला सिकाउँदाका अनुभव बताएका छन् । प्रस्तुत छ, थापासँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमा:-

चित्र चढाएर दर्शन भेट

कुरो वि.सं. २०१५ सालको हो । जतिवेला तत्कालीन राजा महेन्द्रको सवारी रुपन्देहीमा भएको थियो । नेपालीहरुले त्यसबेला राजालाई भगवानको अवतार मान्थे । सबै दर्शन गर्न जाने चलन भएकोले म पनि एउटा चित्र बोकेर राजाको दर्शन गर्न निस्किएको थिए । बेलुकी करिव ७/८ बजेतिर मैले त्यो चित्र राजा महेन्द्रलाई चढाएँ । राजा महेन्द्रको अनुहार अलिअलि मात्र देखेँ । तर उहाँको चस्मा टल्किरहेको दृश्य भने अहिले पनि ताजा नै छ । मैले राजालाई चित्र सुम्पिएपछि उहाँले चित्र हेर्नुभयो र ‘अन्य केही छ ?’ भनेर प्रश्न गर्नुभयो । मैले चित्रकलामा उच्च शिक्षा अध्ययन गर्न पाउँ भनेर बिन्ति बिसाएँ । त्यसपछि म राजा सवारी भएको क्याम्प (जंगल) देखि नजिकै पर्ने तिलिया गाउँ पुगेर बास बसेँ ।

राती साथीहरुले मेरो चित्र हेरेर राजाले केहि कुरा गरेको सुनाए । भोलिपल्ट बुझ्दै जाँदा सूचना सहि साबित भयो । मलाई एकसय रुपैयाँ पुरस्कार पनि छोडिएको रहेछ । साथै चुनाव सकिएपछि काठमाण्डौ आउनु भन्ने पत्र तत्कालीन राजा महेन्द्रका निजी सचिव मधुसुदन राज भण्डारीबाट प्राप्त भयो । प्राप्त भएको सय रुपैयाँ पुरस्कार लिएर सवैभन्दा पहिला म चिया पसल गएँ र चिया पाउरोटी खाएँ । चिया पाउरोटी त्यसवेलाको सवैभन्दा मीठो खानेकुरा लाग्थ्यो, मलाई ।

त्यसबेला २०१५ सालको चुनावी माहोल थियो । चुनावको मुखमा भएकाले निजी सचिवले चुनाव सकिएपछि मेरो लागि केही हुन्छ भन्ने आश्वासन दिए । त्यसपछि म काठमाडौं आएँ । नभन्दै नेपाल सरकारले मलाई छात्रवृत्ति प्रदान गर्यो । त्यो छात्रवृत्ति डिप्लोमा सम्मका लागि अर्थात् ४ वर्षका लागि थियो । म बनारस गएँ ।

वीरेन्द्रसँगको पहिलो भेट

४ वर्ष पढेर नेपाल फर्किएपछि नोकरी गर्ने सोचमा काठमाण्डौ फर्किएँ । काठमाण्डौ फर्किएपछि भारतीय राजदुतकी श्रीमतीसँग भेट भयो । उनी नृत्यंगनाका साथसाथै साहित्यकार पनि थिइन् । त्यसैबेला भारतीय दुताबासले ललितकला सम्बन्धी एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा राजा महेन्द्रदेखि उनका सम्पूर्ण परिवार उपस्थित थिए । त्यही कार्यक्रममा मैले तत्कालीन युवराज वीरेन्द्रसँग भेट गर्ने मौका पाएको थिएँ ।

त्यस कार्यक्रममा म साईकल चढेर गएको थिएँ । राजा महेन्द्रले आफ्नो छोरोले भेट्न चाहेको कुरा बताएपछि मैले युवराज वीरेन्द्रसँग भेट गरेँ । युवराज वीरेन्द्रले आफ्नो चित्र मन पराएको र आफ्नो गुरु बन्न अनुरोध गरेपछि मेरो खुसीको सीमा नै रहेन । साइकलमा फर्किदा उडुँउडुँ जस्तो भयो । स्वर्ग पुगेजस्तो भयो । आफूले आफैंलाई चिमोटेर सत्य जाँच्न मन लाग्यो । हो कि होइन ? वा यो सपना पो हो कि जस्तो भयो ।

वीरेन्द्रलाई चित्रकला सिकाउँदा

बेलायतको इटन कलेजमा अध्ययन गरिरहेका युवराज वीरेन्द्र केही समयको लागि मात्र बिदामा आएका थिए । त्यस्तै डेढ महिनाकोलागी हुँदो हो । त्यही समयमा मैले वीरेन्द्रलाई पढाउँन थाले । चित्रकलाका लागि आवश्यक सामाग्री म आफैँ तयार गर्थे ।

मैले उहाँलाई साँझ ६ देखि ७ बजेसम्म चित्रकला सिकाउँथे । मैले वीरेन्द्रलाई विशेषतः वास पेन्टिङ सिकाएको हुँ । वीरेन्द्र सधैँ विद्यार्थीको रुपमा नै आज्ञाकारी भएर बस्नुभयो । उहाँले कहिल्यै पनि आफू राज परिवारको र युवराज हुँ भन्ने दम्भ देखाउनु भएन । राजा वीरेन्द्र यति आज्ञाकारी विद्यार्थी हुनुहुन्थ्यो कि उहाँ एक मिनेट मात्र ढिलो हुने भए पनि मलाई जानकारी पठाउनु हुन्थ्यो । उहाँको त्यो गुण नै मलाई सबैभन्दा बिशेष लाग्थ्यो ।

मैले नारायणहिटी दरवारको बंगला नं १ मा वीरेन्द्रलाई चित्रकला सिकाउँथे । सानो कोठामा हतियारहरु र बाघका छालाहरु राखिएको थियो । बन्दुकहरु थिए । अन्य धेरै किसिमका सामाग्री पनि थिए । ती सवै ‘टोय’ हुन् भन्नुहुन्थ्यो । मैले त्यसभन्दा बढी चासो राख्न जरुरी ठानिनँ ।

चित्रकलामा वीरेन्द्रको योगदान

चित्रकलालाई माया गर्ने राजा वीरेन्द्रकै कारण ललितकला क्षेत्र यो स्थानसम्म आईपुगेको हो । उहाँले युवराज हुँदै नेपाल ललितकला संस्था (नाफा) स्थापना गर्नुभयो । कलाकारलाई पनि एउटा आधार वा एउटा छाता चाहिन्छ भन्ने भएर नाफा स्थापना गर्नुभएको हो ।

नेपाल ललितकला संस्थाको स्थापना गरेर वीरेन्द्र आफैँ संरक्षणमा खटिनुभयो । दोश्रो कार्याकालमा भने मैले पनि कोषाध्यक्षको जिम्मेवारी पाएँ । म लगातार ११ बर्षसम्म कोषाध्यक्षको जिम्मेवारीमा नै रहिरहेँ । अलीपछी मात्र म त्यस संस्थाको प्रमुख भएँ । म ललितकला विभाग प्रमुख भएपछि त्यहाँको प्रमुख बनेको हुँ ।

नेपाल ललितकला संस्था रोयल नेपाल एकेडेमी अर्थात् (नेपाल प्रज्ञा प्रतिष्ठानमा गाभियो । वि.सं. २०३४ सालतिर नेपाल ललितकला संस्था प्रज्ञा प्रतिष्ठानमा गाभिएको हो । त्यसपछि ललितकलाको स्वतन्त्रतामा कुठाराघात भयो । हामीले त्यही बेलादेखि नै ललितकलामा स्वतन्त्रता हुनुपर्छ भन्दै बिभिन्न आवाज उठाउन थाल्यौँ । हामीले गरेका प्रदर्शनीहरु हेर्न राजा वीरेन्द्र नबोलाईकन पनि आउनु हुन्थ्यो । उहाँ भित्रको कालाकारिता बुझ्न यही ब्यवहार काफी छ ।

आफैं कलाकार

संसारमा कमै मात्र राजकुमार वा राजा थिए र छन्, जो चित्रकलामा पोख्त होस् । तिनै अतिकममा पर्नुहुन्छ, राजा वीरेन्द्र । उहाँका ४ वटा चित्र त चित्रकलाको क्षेत्रमा चर्चित नै भए । उहाँका सवैचित्र नामले नै चिनिन्छन् ।

नारायण मन्दिरको चित्र, झर्नाको चित्र र पर्ल चित्र राजा वीरेन्द्रले बनाएका मध्ये सबैभन्दा उत्कृष्ट चित्र हुन् । उहाँले उक्त चित्रहरु वि.सं. २०२० सालमा बनाउनु भएको हो । साथै उहाँले १० मिनेटमै भारतकालागी नेपाली राजदुत यदुनाथ खनालको चित्र तयार गर्नुभएको थियो । भारत भ्रमणकोक्रममा खनालको मुहार चित्र उहाँले पेन्सिलले कोर्नु भएको हो । त्यसचित्रमा उहाँले कोरेको रेखाले उहाँमा रहेको आत्मविश्वास र कलाकारिता ब्यक्त गर्दछ । उहाँ राम्रो कलाकार पनि हुनुहुन्थ्यो ।

हेर्नुहोस् भिडियो आर्टिकल

Logo