देशभरका पत्रकारहरु किन आन्दोलित ?

देशभरका पत्रकारहरु किन आन्दोलित ?


काठमाडौं । यतिबेला देशभरका पत्रकार आन्दोलनमा छन् । सधैभर अरुको बारेमा जानकारी गराउने पत्रकारहरु यतिबेला आफ्नै पेशा संकटमा पर्ने भएपछि आन्दोलनमा होमिएका हुन् । उनीहरुको एउटा मात्र माग हो, ‘हामीलाई स्वतन्त्रतापूर्वक लेख्ने देऊ ।’ सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र प्रेस स्वतन्त्रता विरोधी कानूनविरुद्ध उनीहरुले आन्दोलन थालेका हुन् ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभरका पत्रकार आन्दोलनमा छन् । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिएका हुन् । पत्रकारले सञ्चार साधनसहित प्रदर्शन गरेका छन् ।

काठमाडौंको बानेश्वरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नागरिक समाजका अगुवा, विभिन्न सञ्चारसम्बद्ध पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले मुखमा कालोपट्टीले बाँधेका थिए ।

प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने बताएको छ । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघ अध्यक्ष गोविन्द आचार्यको भनाई छ ।

महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम आज सकिएको छ । विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउन थालेको भन्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरिने अध्यक्ष आचार्यले बताए ।

पहिलो चरणको आन्दोलन सकिएपछि भोलि शनिबार केन्द्रीय कमिटिको बैठक बसी नयाँ योजना बनाइने उनले बताए । पत्रकारहरुले मिडिया काउन्सिल विधेयकसँगै प्रेस स्वतन्त्रताविरुद्धका कानूनहरु पनि खारेज गर्न माग गरेका छन् ।

 

Logo