बजेटमाथि बाबुरामको टिप्पणी-‘अर्धनिद्रामा रहेको मान्छेले हाई काड्दै लेखेको निबन्ध जस्तो’

बजेटमाथि बाबुरामको टिप्पणी-‘अर्धनिद्रामा रहेको मान्छेले हाई काड्दै लेखेको निबन्ध जस्तो’


समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याउन लागेको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी र दिशाहीन भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा आइतवार आर्थिक वर्ष २०७६/०७७ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्वबजेट) छलफलमा भाग लिँदै डा. भट्टराईले भने ‘सिद्धान्त र प्राथमिकतामा विद्वान अर्थमन्त्रीले आफैँमाथि न्याय गर्नुभएन कि भन्ने लाग्छ, अर्धनिद्रामा रहेको मान्छेले हाई काड्दै लेखेको निबन्धजस्तो छ।’ सिद्धान्त र प्राथमिकतामा नवीनता र तीव्र आर्थिक विकासको दिशाबोध गर्ने खालको नरहेको भन्दै उनले बिरालो बाँधेको कर्मकाण्डी दस्तावेज जस्तो देखिएको भन्दै टिप्पणी गरे ।

पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले आर्थिक वृद्धिमा जोड गर्ने कि वितरणमा भन्ने कुरामा नीतिगत प्रस्टता जरुरी रहेको बताए । ‘लगानीको वातावरण बन्यो, बाह्य लगानी ह्वारह्वार्ती आउन लाग्यो भन्ने अवस्था छैन । लगानी सम्मेलन गरेपनि यसवर्ष वैदेशिक लगानी गत वर्षभन्दा कम आएको सरकारको तथ्याङ्क छ,’ उनले भने ।

Logo