९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर

९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर


काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सय ३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले गत साउन महीनादेखि चैत मसान्तसम्म यी सबै मुद्दा दायर गरेको हो ।

 यस अवधिमा भ्रष्टाचार विरुद्ध ९० स्टिङ अपरेशनमा १२७ उपर कारबाही गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षभरीमा १९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ ।

 गत वर्षका तुलनामा यस वर्ष भ्रष्टाचारविरुद्धका मुद्दामा वृद्धि भएको जनाईएको छ । गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरी आयोगमा रहेका थिए भने यस चालु आर्थिक वर्षको ९ महिनामा २० हजार भन्दा बढी मुद्दा दायर गरिएको छ । आयोगले भ्रष्टाचार विरुद्ध पूर्वक्रियाशीलता अभिवृद्धि गर्न सुक्ष्म निगरानी तथा कारबाही टोलीसमेत गठन गरि भष्टाचार गर्नेलाई कारबाही तीव्र पारिएको छ ।

 आयोगका अनुसार सार्वजनिक विकास निर्माणमा कारबाही प्रभावकारिता ल्याउन निर्माण गुणस्तर परीक्षण प्रयोगशालाको सुदृढीकरण गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ भने प्रदेशका २÷२ जिल्लामा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन गरिएको छ ।

नेपाल समाचारपत्रबाट

Logo