नेपाल वायुसेवाले जापानमा सीधा उडानको अनुमति पायो

नेपाल वायुसेवाले जापानमा सीधा उडानको अनुमति पायो


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्ना जहाज जापानमा उडान गर्न अनुमति पाएको छ । लामो समयको प्रयासपछि नेपाल वायुसेवा निगमले जापान उडानको अनुमति पाएको हो ।

आगामी जुलाइ ४ तारिखदेखि निगमले एक हप्तामा ३ वटा उडान भर्नेगरी जापान सरकारबाट अनुमति पाएको हो । जापानको ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि अनुमति पाएसँगै निगमले ४० दिनभित्रमा नियमित उडान सुरु गर्ने योजना बनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको ओसाकाका लागि सीधा उडान गर्नेछ । यस उडानको नेपाली समय राति २ः३० बजे रहेको छ भने जापानको स्थानीय समय ११ः५५ मा ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । जापानबाट भने काठमाडौँका लागि स्थानीय समयअनुसार १ः५५ बजे उडान भर्नेछ ।

निगमले आफ्ना एयरबस जहाजमार्फत उडान भर्ने भएको हो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जिर्णोद्वारको काम भइरहेकाले समयतालिका नमिल्ने देखिएपछि निगमले सो काम सकिएलगत्तै उडान गर्ने जनाइएको छ । निगमले जापानको अर्को विमानस्थल नारिताका लागि समेत उडान अनुमतिको लागि आवेदन दिएको छ ।

Logo