मण्डनदेउपुरमा पर्यटन प्रर्बधनका लागि म्याराथुन प्रतियोगिता

मण्डनदेउपुरमा पर्यटन प्रर्बधनका लागि म्याराथुन प्रतियोगिता


ज्ञानमणि नेपाल कालोटोपी
चण्डेनीमण्डन काभ्रे

पर्यटन प्रबद्धनका लागि स्वस्थ दौड, भन्ने नाराका साथ शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिका १० मा म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । मण्डनदेउपुर नगरकै सबैभन्दा अग्लो पर्यटकिय गन्तव्य थामीडाँडामा उक्त म्याराथुन प्रतियोगिता सम्पन्न भएको हो ।

नगरपालिकामै पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा ५२ जना प्रतिश्पर्धीहरुले सहभागिता जनाएका थिए । स्थानिय रुपमा पर्यटन प्रबद्धनको उद्देश्यका साथ नेपाली काँग्रेस मण्डनदेउपुर नगरपालिका १० ले सो कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सिट्टी फुकेर कार्यक्रमको आरम्भ गरेका थिए । मौसम प्रतिकुलताका बाबजुद पनि प्रतियोगीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम पछि प्रमुख अतिथी पाण्डेले मण्डनभेगको पर्यटन प्रबद्धनका लागि शुरु गरिएको यस कार्यक्रम एकदमै प्रभावकारी भएको बताए । उनले लुकेर रहेका पर्यटकिय गन्तव्यहरुलाई सबै सामु चिनाउन यस्ता कार्यक्रमले राम्रो भुमिका खेल्ने बताए ।

करिव ३ हजार फिटको उचाईमा रहेको थामीडाँडा मण्डनदेउपुरको एउटा उत्कृष्ट पर्यटकिय गन्तव्य हो । यहाँबाट हिमालयको राम्रो दृष्यावलोकन गर्न सकिन्छ भने यहाँ भ्युटावर बनाउन सके काठमाडौं उपत्यकाको पनि अवलोकन गर्न सकिन्छ । लालीगुराँस फूलेर डाँडा नै रमणिय देखिने थामीडाँडा यहाँको पर्यटकिय मात्र नभएर धार्मिक रुपले पनि प्रख्यात ठाउँ हो ।

यति हुँदा हुँदै पनि यहाँ पर्यटन प्रबद्धनका लागि यसअघि खासै पहल नभएपनि अहिले भने सम्बन्धित वडाले राम्रो पहल गरेको र केहि वर्ष भित्रै यसलाई उत्कृष्ट र नमुना पर्यटकिय गन्तव्य बनाउने वडाध्यक्ष विष्णुमणि नेपालले बताए । जस अनुसार यहाँ अहिले मोटरबाटो पुर्याइएको छ भने खानेपानीको सुविधा पनि उपलब्ध छ । पिकनिक जानेहरुका लागि करिव २ सय जना मानिस अट्ने हल निर्माणको क्रममा छ । अब यहाँ भ्युटावर निर्माणका लागि पहल भइरहेको वडाध्यक्ष नेपालले बताए ।

शनिबार सम्पन्न म्याराथुनमा सबैभन्दा कम समयमा साँढे २ किलोमिटरको दुरी पार गर्ने स्थानिय युवा शुसिल लामा पहिलो भएका थिए । उनले निर्धारित दुरी १६ मिनेट ५ सेकेन्डमा पुरा गरेका थिए । त्यस्तै विशाल तामाङ्गले १९ मिनेट २१ सेकेन्डमा सो दुरी पुरा गरि दोस्रो र शिवराम कुवरले १९ मिनेट २३ सेकेन्डमा पुरा गरि तेस्रो भए ।

त्यस्तै महिला तर्फ भने होममाया श्रेष्ठले २३ मिनेट २९ सेकेन्डमा दुरी पुरा गरि पहिलो, सिर्जना लामाले २३ मिनेट ५० सेकेन्डमा पुरा गरि दोस्रो र आरती कुवरले २३ मिनेट ५७ सेकेन्डमा दुरी पुरा गरि तेस्रो भएका थिए ।

उत्कृष्ट प्रतियोगीलाई सांसद पाण्डे तथा नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य लगायतले नगद ( प्रथम हुनेलाई ३ हजार, दोस्रो हुनेलाई २ हजार र तेस्रो हुनेलाई १ हजार ) र प्रमाणपत्र सहित सम्मान गरेका थिए । सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
मण्डनदेउपुरका पहिलोपटक आयोजना गरिएको भएपनि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समितीका संयोजक रमेश कुवरले बताए ।

Logo