टियूको थेसिस किनबेचमा प्राध्यापकको संलग्नता, विद्यार्थीले दिए यस्तो चेतावनी

टियूको थेसिस किनबेचमा प्राध्यापकको संलग्नता, विद्यार्थीले दिए यस्तो चेतावनी


त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यसँग गुनासो गरेका छन् । गोइत अकाउन्ट विषयका शिक्षक हुन् ।

प्राध्यापकहरूले थेसिस र प्रोजेक्ट रिपोर्ट आफैँले तयार गरी प्रतिविद्यार्थी १५ देखि २५ हजारसम्म रकम असुल्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षकले बार्गेनिङ गरेको गुनासो अभिभावकले क्याम्पस प्रमुखसँग गरेपछि यस्तो तथ्य बाहिरिएको हो ।

क्याम्पसका केही स्थायी, करार र आंशिक शिक्षकले समेत विद्यार्थीसँग बार्गेनिङ गरेको पाइएको छ । क्याम्पसवरिपरिका फोटोकपी सेन्टरले समेत शिक्षकसँगको मिलेमतोमा विद्यार्थीलाई थेसिस बेच्ने गरेको आरोप लाग्दै आएको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

बिबिएस चौथो वर्षमा ५० पूर्णांकको प्रोजेक्ट वर्क र एमबिएस तहमा सय पूर्णांकको थेसिस तयार गर्नुपर्छ । शिक्षकले आफैँले त्यस्तो सामग्री तयार गरेर विद्यार्थीसँग रकम असुल्न थालेपछि क्याम्पसले उनीहरूमाथि ठगी मुद्दा चलाउने चेतावनी दिएको छ ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले आइतबार सूचना जारी गरी बिचौलियालाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्ता काम दोहोरिन गएमा थेसिस/प्रोजेक्ट रिपोर्टमा चलखेल गर्ने शिक्षकलाई क्याम्पसबाट हटाउने, बढुवा रोक्ने वा त्रिवि सेवाबाट हटाउन सिफारिस गर्ने र ठगीसम्बन्धी मुद्दा चलाउने तथा किन्ने विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिनेछ,’ सूचनामा भनिएको छ ।

क्याम्पसमा प्रत्येक वर्ष बिबिएसमा करिब सात सय र एमबिएसमा हजार विद्यार्थीले थेसिस तथा प्रोजेक्ट रिपोर्ट बुझाउँछन् । विद्यार्थीको चाप र डिन कार्यालयको बाध्यात्मक नीतिको मौका छोपी केही शिक्षकले नाजायज काम गरेको क्याम्पस प्रमुख आचार्यको भनाइ छ ।

Logo