७८ लाख घुस लिने राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

७८ लाख घुस लिने राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

नेपाल इन्जिनियरिङ कलेजको विवादमा घुस लिएको सार्वजनिक भएपछि आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए । राजीनामा पछि अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो ।

पाठकले आफ्नो पदीय आचरण विपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको जिल्ला भक्तपुर, चाँगु नारायणस्थित नेपाल इन्जिनियरिंग कलेजको स्वामित्व विवादसम्वन्धी उजुरी मिलाई दिने भनी कलेजका संचालक लम्बोदर कुमार न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएका थिए ।

आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत उक्त रकम घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

साथै यही प्रकरणमा जोडिएका पाठकमा भाइ शुभ नारायण पाठकले पनि १५ लाख रुपैयाा घुस लिएको भन्नेबारे पनि अनुसन्धान गर्ने भएको छ ।

Logo