राप्रपाको स्वाभिमान यात्रा काठमाडौँ आइपुग्यो

राप्रपाको स्वाभिमान यात्रा काठमाडौँ आइपुग्यो


काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रहको माग गर्दै गएको फागुन १५ गते ताप्लेजुङदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा विहिबार काठमाडौँ आइपुगेको छ ।

करीब दुई सातासम्म गरिएको उक्त यात्रामा करीब दुई हजार ८१० किमीको दूरी पूरा भएको छ भने साना ठूला गरी करीब १५० सभा गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । करीब ५०० यात्री सहभागी भएको यात्रामा स्थानीय सङ्गठनले आवश्यक सहयोग र सहकार्य गरेका थिए । पार्टीका अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दू, बौद्ध र किराँत धर्म झल्कने सन्देश तथा पशुपतिनाथ, गाई, बौद्ध स्तूपाका ब्यानरलाई प्रयोग गरिएको थियो ।

राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली यात्रा गरेको हो । हिन्दूराष्ट्रका पक्षमा देखिएको जनताको समर्थनलाई छिट्टै सम्बोधन गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो ।
रासस

Logo