राष्ट्रिय झण्डा ओढाएर भाषाशास्त्री पोखरेलको अन्तिम विदाई

राष्ट्रिय झण्डा ओढाएर भाषाशास्त्री पोखरेलको अन्तिम विदाई


विराटनगर । भाषाशास्त्री एवं वरिष्ठ साहित्यकार प्रा. बालकृष्ण पोखरेलको अन्त्येष्टि गरिएको छ । विराटनगरको परोपकार घाटमा अन्त्येष्टी गरिएको हो ।

उनको शवलाई श्रद्धाञ्जली दिनका लागि कुनै सार्वजनिक स्थानमा नराखिकन शव यात्रा गर्दै अन्त्येष्टीका लागि घाट पुर्‍याइएको थियो । उनलाई छोरा मुनाल पोखरेलले दागबत्ती दिए। पोखरेलको पार्थिव शरीरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए ।

भाषाशास्त्री पोखरेलको सम्मानका लागि विराटनगर महानगरपालिकाले एक दिन सार्वजनिक विदा दिएको छ । पोखरेललाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि विभिन्न दलका नेता, कार्यकर्ता, समालोचक साहित्यकार, शुभचिन्तक परोपकार घाट पुगेका थिए ।

नेपाली भाषा र साहित्यको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका नेपालका प्रथम भाषाशास्त्री ८६ वर्षीय पोखरेलको आइतबार बिहान साढे १ बजे विराटनगर १० स्थित निवासमा निधन भएको थियो।

भाषाविद् पोखरेललाई भारतको सिक्‍किमस्थित गान्तोकमा छोरीको घर गएको बेला गत माघ ६ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो।

उपचारपछि विराटनगर ल्याइएका उनको स्वास्थ्य बिग्रदै गएपछि थप उपचारका लागि विराटनगरकै श्री अस्पतालमा भर्ना गरिएको थियो।अस्पतालमा ५ दिनको उपचारपछि उनी घरमै आराम गरिरहेका थिए।

रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल लगायतका दर्जनौं उपनामबाट भाषा विज्ञ पोखरेललाई नेपाली साहित्यमा चिन्ने गरिन्छ।

भारतको कोलकाता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर गरेका उनी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा आवद्ध भएका थिए ।

बिक्रम संवत १९९० मा मकवानपुरको चिसापानी गढीमा बुवा सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीको कोखबाट जन्मिएका पोखरेलका एक छोरा र दुई छोरी छन् । श्रीमती शान्तादेवी पोखरेलको चार वर्ष अघि निधन भएको थियो ।

Logo