मृतक विद्यार्थी सुनमायाको परिवारलाई सहयोग गर्न विद्यालयको अनुरोध

मृतक विद्यार्थी सुनमायाको परिवारलाई सहयोग गर्न विद्यालयको अनुरोध


ज्ञानमणि नेपाल कालोटोपी
चण्डेनीमण्डन, काभ्रे

जिल्लाको मण्डनदेउपुर नगरपालिका १० की बिद्यार्थी स्व.सुनमाया तामाङको परिवारलाई आर्थिक सहयोग गर्न सम्बन्धित विद्यालयले सबैलाई अनुरोध गरेको छ ।

गत पुस २७ गते शैक्षिक भ्रमणका लागि साथीहरुसँगै भक्तपुर आएकी सुनमाया तामाङ हराएकी थिइन् । हराएको एकमहिनापछि भक्तपुरको हनुमन्ते खोलामा उनको शव भेटिएको थियो । उनी मण्डनदेउपुर नगरपालिका वडा नं ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययन गर्थिन् ।

परिवारको आर्थिक अवस्था निकैनै दयनिय रहेको छ । सम्बन्धित विद्यालयको पनि त्यति धेरै आर्थिक क्षमता नभएकाले अहिले सबैसँग परिवारलाई सहयोग दिन अभियान थालिएको छ । विद्यालयले शुरु गरेको अभियानमा हाल सम्म २ लाख १२ हजार संकलन भएको बताइएको छ ।

विद्यालयले नै आयोजना गरेको कार्यक्रममा भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सुनमाया हराएकी थिइन् । सुनमायाका बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । विद्यालयले पीडित परिवारलाई केहि राहत दिने उद्देश्यले सहयोग अभियान शुरु गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर लामाले बताए । सहयोगका लागि मृतक सुनमायाकी हजुरआमा कालीमाया तामाङको कुन्तावेसिमा रहेको जनता बैंकको खाता नं. ०६२१०४०६४७४२५०१ मा रकम जम्मा गर्न सकिने पनि उनले जानकारी दिए ।

यता महानगरीय प्रहरी परिसर जगातीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Logo