मणिपुरबाट १७९ नेपालीको उद्धार : आज नेपाल ल्याइने

मणिपुरबाट १७९ नेपालीको उद्धार : आज नेपाल ल्याइने


भद्रपुर
मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदैछ ।

नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महीनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पु¥याएका थिए । मणिपुरबाट म्यान्मा हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिनुभयो ।

उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् । उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रजिअ जनकराज दाहालले बताउनुभयो । उनीहरुलाई आज मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र रातभरमा पूर्वीनाका काँकडभिट्टा ल्याइ पु¥याउने उहाँले जानकारी दिनुभयो ।

प्रजिअ दाहालका अनुसार काँकडभिट्टा ल्याइपु¥याएलगत्तै ६ वटा बसमा राखेर उनीहरुलाई मङ्गलबार काठमाडौँस्थित माइती नेपालको पुनःस्थापना गृहमा पठाउने तयारी गरिएको छ । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले उद्धार गरिएकामध्ये कतिपय बिरामी भएका कारण बाटैमा उपचार गर्नु परेकाले नेपाल ल्याउन केही ढिलाइ भएको बताउनुभयो । उद्धारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ ।
रासस

Logo