एनआरएनएद्धारा दुर्गम क्षेत्रका विद्यालयहरुलाई आर्थिक सहायता

एनआरएनएद्धारा दुर्गम क्षेत्रका विद्यालयहरुलाई आर्थिक सहायता


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालको नौं वटा दुर्गम क्षेत्रका विद्यालयहरुलाई १/१ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । एनआरएनए, अष्ट्रेलियाले नेपालको दूर्गम भेगमा रहेका नौं वटा विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि आवश्यक सहयोग गर्न सो आर्थिक सहायता उपलब्ध गराएको हो ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालको दुर्गम भेगमा रहेका दुर्गा मावि ताप्लेजुङ, राष्ट्रिय प्राईमरी स्कुल सप्तरी, बच्चाला मावि नुवाकोट, मण्डली मावि धादिङ, जनज्योति मावि, बाग्लुङ, पर्वत प्राईमरी स्कुल पर्वत, रारा मावि बाँके, थिगेल्नीदेवी बेसिक स्कुल रुकुम र चन्द्रनाथ प्राईमरी स्कुल बाजुरालाई सो आर्थिक सहायता रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै एनआरएनए, अष्ट्रेलियाका विजय पोखरेलले दुर्गम क्षेत्रका गरिब जनताका छोराछोरीको पठनपाठनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो सहायता रकम हस्तान्तरण गरिएको स्पष्ट पारे । हस्तान्तरणका गरिएका सो १ लाख विद्यालयहरुले अक्षय कोष बनाई गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुपर्नेछ ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष भवन भट्टले नेपालको दुर्गम क्षेत्रका विद्यालयहरुलाई आर्थिक सहायता उपलब्ध गराउने अभियाननै संचालन गर्ने प्रतिवद्धता जनाए ।

उनले सो अवसरमा एनआरएनए आवद्ध रहेका विश्वका ८० मुलुकका विद्यालयसँग नेपालका सबै स्थानीय तहका छानिएका विद्यालयहरुको मितेरी सम्बन्ध विस्तार गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए । एनआरएनए, अष्ट्रेलियाले सो सहायता रकम ५ लाखसम्म पुर्‍याउने योजना पनि अघि सारेको छ ।

गैर आवासीय नेपाली संघले नेपालको आर्थिक विकासमा आवश्यक लगानी भित्र्याउने प्रतिवद्धता पनि जनाउँदै आएको छ ।

Logo