साढे ३३ केजी सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ

साढे ३३ केजी सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ


काठमाडौं

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका फरार एक मुख्य अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको आग्रहमा संयुक्त अरब इमिरेट्स (युएई) को प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्कालाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा खड्का दुई साता अघि पक्राउ परेका हुन् ।

गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका अनुसार उनी विगत पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका मुख्य लगानीकर्ता हुन् । उनी दुबईमा बसेर सुन नेपाल पठाउने काम गर्दै आएका थिए । १८ फागुन ०७४ मा तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो । हत्या गर्ने समूहबाटै सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले गाडीमा सनमको शव बरामद गरेको थियो ।

प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने गरी अनुसन्धान गरेको उजुरी परेपछि प्रधान कार्यालयले तत्कालीन डिआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

साढे ३३ केजी सुन तस्करी मुद्दामै दुबईमा पक्राउ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ । निष्कासनका लागि त्यहाँको मन्त्रालयबाट निर्णय भइसकेको छैन । ६ महिनाअघि नै उनी पक्राउ परेका थिए ।
नयाँ पत्रिकाबाट

Logo