भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने

भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने


काठमाडौं । भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य गरिएको छ । नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन थालिएको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको श्रम स्वीकृति लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

विभागका कारखाना निरीक्षक प्रशान्त शाहले एक पत्र पठाउदैं प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन निर्देशन दिएका हुन् ।

साथै प्रतिष्ठानको नाम, कार्यरत गैर नेपाली श्रमिक भए उनीहरुको नाम, पदसहितको विवरण पनि मासिक रुपमा विभागमा पठाउन श्रम कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

नेपालमा लाखौंको संख्यामा भारतीय नागरिकहरु काम गर्दै आएका छन् । नेपालमा कति संख्यामा उनीहरु छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन् । खुला सीमानाकाका कारण सहजै नेपाल आउन सकिने भएकाले भारतीयहरुका लागि नेपाल सहज श्रम गन्तब्य बनिरहेको छ ।

उनीहरु खुला सीमानाबाट सहज रुपमै नेपाल आउने र नेपालमा उनीहरुको अध्यावधिक नहुँदा शान्ति सुरक्षामा समेत समस्या भईरहेको छ । उनीहरुलाई व्यवस्थि गर्न सरकारले श्रम स्वीकृति लिने व्यवस्था गरेको हो ।

 

Logo