विराटनगरमा टिपरले यसरी मार्‍यो ११ वर्षे बालिका ( भिडियो सहित )

विराटनगरमा टिपरले यसरी मार्‍यो ११ वर्षे बालिका ( भिडियो सहित )


विराटनगर

टिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि मोरङमा ६ वटा टिपरमाथि आगजानी गरिएको छ । मोरङको सुन्दरहरैंचाका स्थानीयले ६ वटा टिपर जलाएका हुन् ।

विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ कि ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । उक्त घटनापछि आक्रोसित बनेका स्थानीयले ठक्कर दिने टिपरमाथि आगो लगाएका थिए ।

स्थानीयले विराटचोक–पुष्पलाल चोक सडक खण्डको सिसौघारीमा कुदिरहेका टिपर रोकेर आगजनी गरेका जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।

उनीहरुले शवलाई सडकमा राखेर प्रदर्शन गरेका थिए । प्रदर्शनले सुन्दरहरैंचा तनावग्रस्त बनेको छ । अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निषेधाज्ञा जारीः

घटनाले गम्भीर रुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले मोरङको विराटनगर (विराटचौक) सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार बिहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको हो । यही विषयलाई लिएर जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक पनि विराटनगरमा बसेको छ । बैठककै निर्णय अनुसार अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ केसीको भनाई छ । हेरौं यो भिडियोमा :

Logo