जनमतको सदुपयोग गर्न नेता आचार्यको आग्रह

जनमतको सदुपयोग गर्न नेता आचार्यको आग्रह


नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेका छन् । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भने, “ पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हुँदैन ।”

बहत्तर वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा र दमन शोषणविरुद्ध तथा जनताको हितका लागि काङ्ग्रेसले काम गरेको जिकिर गरे ।

रामपुर डान्स आइडलको उपाधि रानालाई

दोस्रो रामपुर डान्स आइडलको उपाधि सैलिसा रानाले हात पारेका छन् । सहभागी २७ प्रतिस्पर्धीमध्येबाट दोस्रो रामपुर डान्स आइडलको उपाधि जित्न सफल रानाले रु ३० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै श्वेता रुचालले द्वितीय र सिन्धु श्रेष्ठे तृतीय पाउनाका साथै समीक्षा देवकोटाले सान्त्वना पुरस्कार पाएकी छिन् । उनीहरुलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरियो ।

पूर्वअर्थमन्त्री आचार्य, प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इण्टरप्राइजेजका सञ्चालक सिद्धार्थ शाक्यले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे।

Logo