पत्रकारको हत्याराहरु सार्वजनिक

पत्रकारको हत्याराहरु सार्वजनिक


जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार मनोहर ढकालको हत्याराहरुलाई पक्राउ गरि सार्वजनिक गरेको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडामा गत पुस २५ गते मृत अवस्थामा भेटिएका ढकालको हत्यामा संलग्न दुईजनालाई प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार हेटौँडा-११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका–१ का १८ वर्षीय प्रवीण वाइबाले ढकाललाई कुटपिट गरी भीरबाट ढकालेर हत्या गरेका थिए। ‘जंगलमा दुईजना लागुऔषध सेवन गरेर बसिरहेको समयमा ढकाल एक्कासी त्यहाँ पुगेर उनीहरूलाई प्रहरी बोलाउने धम्की दिएपछि उनीहरूले ढकालमाथि हातपात गरेको र उनलाई धकालेर मारेको अनुसन्धानको क्रममा देखिएको छ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने।

उनका अनुसार ढकालका हत्यासँगै पुडासैनी र वाइबाले  एकथान सुनको औंठी र मोवाइलसमेत लिएर गएका थिए। उनीहरूले सुनको औंठी र मोवाइल शुक्रबार बेचेसँगै प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले मोवाइल खरिद गर्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक भीमफेदी गाउँपालिका–६ का ३१ वर्षीय दिनेश थापमगर र सुन खरिद गर्ने नारायणी सुनचाँदी पसल हेटौंडा–२ का सञ्चालक ४८ वर्षीय नारायणबहादुर सुनारलाई पक्राउ गरेको छ ।

Logo