बिग बासमा सन्दीपको टोलीको दोस्रो जित

बिग बासमा सन्दीपको टोलीको दोस्रो जित


काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा दोस्रो जित दर्ता गराएको छ । मेलवर्न डर्बीमा स्टार्सले रेनेगाड्सलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । रेनेगाड्सले दिएको १३९ रनको लक्ष्य स्टार्सले १७.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो।

खेलमा सन्दीपले १ विकेट लिए । उनले रेनेगाड्का कप्तान टम कुपरलाई आउट गरे । ड्वाने ब्राभोले ३ तथा मार्कुस स्टोइनिस र स्कट बोल्याण्डले २-२ विकेट लिएपछि स्टार्सले रेनेगाड्सलाई १३८-९ मा रोकेको थियो। रेनेगाड्सका लागि डान क्रिस्टियन सर्वाधिक ३२ रन बनाए।

स्टोइनिसले ओपनिङ गर्दै अर्धशतक प्रहार गरेपछि स्टार्सले लगातार दोस्रो खेलमा जित हात पारेको हो। जितपछि ४ खेलबाट ४ अंङ्क जोडेको स्टार्स अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ।

समान अंक भएका सिड्नी थण्डर, एडेलेइड स्टाइकर्स र रेनेगाड्सलाई मेलवर्न स्टार्सले रनरेटमा पछि पारेको हो । ४ खेलबाट ४ खेल नै जित्दै ८ अंक जोडेको होबार्ट हुरिकेन पहिलो स्थानमा छ भने ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ।

Logo