अवार्ड पाउँदा बुरुकबुरुक, नपाउँदा रोइलो किन ?

अवार्ड पाउँदा बुरुकबुरुक, नपाउँदा रोइलो किन ?


अवार्डको बिषयमा धेरै बोलियो, धेरै लेखियो र धेरै बहसहरु पनि गरियो । ति बहसहरुमा बौद्धिक तर्क भन्दा पनि गालीका शब्दहरुले भरिए।  गाली  गर्ने क्रममा कलाकारहरुले यति निम्नस्तरको ब्यबहार समेत देखाए कि त्यो बर्णन गरि साध्य छैन । ति गालीहरु सुन्दा दया लाग्छ।  किनकी मान्छेले बौद्धिक तर्क नभएपछि गाली गलौचको भाषा प्रयोग गर्छ।

जिन्दगीमा कोही पनि पूर्ण हुदैन । हरेक मान्छेले हरेक दिन केही न केहि कुरा सिक्नै परिरहेको हुन्छ । एउटा अवार्ड प्राप्त गर्दैमा त्यो कलाकार सर्वगुण सम्पन्न भएको मान्न सकिदैन। तसर्थ अवार्ड वा कुनै पुरस्कार पाउदैमा कलाकारहरु फुर्किएर ‘म जस्तो कोही छैन’ भन्ने ब्यबहार प्रदर्शन गर्न हुदैन भन्ने मेरो मान्यता हो ।

सिनेमा सम्बद्द अवार्डहरु समेत सस्तिदै गईरहेको आजको अवस्थामा ‘सांगीतिक अवार्ड’ को हैसियत कुन अवस्थामा रहेको छ त्यो हामीले सजिलै अनुमान गर्न सक्छौं । नियम कानुनको ज्ञान समेत नभएका आयोजक, व्यक्ति द्वारा संचालित वा प्रायोजित कार्यक्रम र निर्णयको नाममा मनोमानी बाहेक केही नभएका त्यस्ता अवार्ड कार्यक्रमहरु कति ब्यापारिक हुन्छन।  त्यो पनि दुनियाले बुझेकै कुरा हो ।

कलाकार भनेका सार्वजनिक व्यक्ति हुन् त्यसैले उनीहरु संयमित हुनपर्छ र सार्वजानिक भएका कामहरुको समर्थन र आलोचनालाई सजिलै ग्रहण गर्न सक्नुपर्दछ भन्ने साधारण नियमलाई समेत ख्याल नगरी सामाजीक संजालमा गरिएका व्यंग्य समेत पचाउन नसकेर आलोचकका घर परिवारलाई धम्क्याउने ‘स्वघोषित हिट’ हरुको जमातलाई राष्ट्रको गहना भनेर सम्बोधन कसरी गर्न सकिन्छ ? राष्ट्रको गहना हुनको लागि अलिकति धैर्यता चाहिन्छ कि चाहिदैन ? यो प्रश्नको जवाफ तिनै कलाकारहरुले मात्र दिन सक्लान जसले सानो सानो कुरामा संयमता गुमाउछन्  ।

अवार्ड प्राप्त गरिसकेपछि खुशी ब्यक्त गर्ने कलाकारले कुनै अवार्ड प्राप्त नगरेको खण्डमा आक्रोशित अभिव्यक्ति दिनु कति शोभनीय हुन्छ ? आफुले कुनै अवार्ड पाउदा त्यो कार्यक्रममा पुरस्कृत नहुने कलाकारको जमात पनि हुन्छ । किनकी पाच जनाको मनोनयनमा उत्कृष्ट ठहरिने एकजना मात्रै हो आखिर । अनि पुरस्कृत भएको एकजनाको बिरुद्द अवार्ड नपाउनेहरुको मोर्चाबन्दी गर्नु कति जायज हो ? यो प्रश्नको जबाफ पनि तिनै कलाकारहरुले मात्र दिन सक्लान्  ।

यस किसिमको भाडोभैलो अन्य सांगीतिक विधाहरुमा त्यति देख्न पाइदैन जस्तो कि आधुनिक वा पप गीततर्फ काम गर्ने कलाकारहरु निकै संयमित देखिएको पाइन्छ । सिनेमातर्फ अलि बढी आरोप प्रत्यारोपहरु चल्थे अलि पहिला । बरु सिनेमाका कलाकारहरुले अवार्ड बहिस्कार समेत गरेको देख्न सुन्न पाइन्छ । तर नेपाली लोक गीतको क्षेत्रमा हुने अवार्डहरु र त्यसमा सहभागी भएका कलाकारहरुको ब्यबहार कति सम्म हास्यास्पद हुन्छ। त्यो उनीहरुका केहि अभिव्यक्ति सुन्दा मात्र पनि बुझिन्छ ।

भर्खरै अवार्ड पाएकी एकजना कलाकारसंग युट्युबरले सोध्छन ‘त्यो बिबाद के हो’? कलाकारले ‘रियालिटी शो’ भन्न खोज्दा उनले ‘रिलायाबली शो’ भनेर जवाफ दिन्छिन् । ‘मिस वर्ल्ड’ भन्न खोज्दा ‘मिस वल्फ़’ अब यी कुरा कलाकारको प्रतिष्ठाको बिषय हुन सक्छ वा सक्दैन त्यो दर्शक को नजर र बुझाईमा भर पर्ने कुरा हो । त्यस्ता कुराहरुमा कलाकार चिप्लिदा दर्शकले आफुले मन पराएको कलाकारले त्यस किसिमका गल्ति नगरोस्  भनेर आलोचना गर्दा कलाकार रिसाउने कि आफ्नै गल्ति सुधार्न दिईएको सुझाव हो भनेर खुशीसाथ ग्रहण गर्ने ? यो कुरा पनि कलाकारको विवेक मै भर पर्ने कुरा हो । यसको जवाफ पनि कलाकार मात्रले दिन सक्लान्  ।

जतिसुकै कमजोर ‘स्कुलिंङ्’  भएको कलाकारलाई पनि नेपाली दर्शकहरुले माया गरिदिएकै छ, त्यो महत्वपुर्ण कुरा हो । नेपाली दर्शकहरुले कलाकारको बिश्वविद्यालयको प्रमाणपत्र हेरेर सम्मान थपघट गर्ने गरेका छैन । स्कुल नै नगएका कति कलाकारहरुले दर्शकको मन मुटुमा गहिरो छाप छोडेको हामीले देखिरहेका छौ। त्यो सबै माया कै कारण सम्भव भएको हो । अर्को कुरा दर्शकले कलाकारको ईज्जत सम्मान गर्नु पर्दछ तर कलाकारले दर्शकको ईज्जत गर्न पर्छ कि पर्दैन ? भन्ने कुराको जवाफ पनि तिनै कलाकारहरुले मात्र दिन सक्लान् ।

एकजना भाई रहेछन लोक सांगीतिक क्षेत्रका चल्तीका कलाकार । भर्खरै उनले एउटा कार्यक्रममा अवार्ड प्राप्त गरे तर केहि दिनको अन्तरालमा भएको अर्को अवार्ड कार्यक्रमा उनको नामोनिशान कतै देखिएन । उनको लोकप्रियतामा शंका गरेको होइन तर एउटा कार्यक्रममा अवार्ड पाएर आफु सर्वाधिक लोकप्रिय कलाकार हुँ भन्ने दावी गरेका उनी लगत्तै भएको अर्को अवार्ड कार्यक्रममा गुमनाम हुनु अवार्ड आयोजकको सिन्डिकेट हो अथवा के हो यसको जवाफ आयोजकले दिन सक्लान तर त्यसरी आफुले अवार्ड नपाएपछि सामाजिक संजालमा ति कलाकारले जुन आक्रोश पोखे त्यो एकदम हास्यास्पद देखियो । त्यसपछि सामाजिक संजालमा उनलाई सर्वसाधारणले उडाए । त्यसरी गरिएको साधारण हासिमजाकलाई ति कलाकारले समेत पचाउन नसकेर धम्कीको भाषा प्रयोग गर्न एकजाना कलाकारलाई सुहाउछ ? यो प्रश्नको जवाफ पनि कलाकारले मात्र दिन सक्लान ।

अवार्ड कार्यक्रमहरु निश्पक्ष हुदै जाउन र कलाकार हरुमा सहनशक्ति बढ्दै जाओस सबैमा शुभकामना ।

Logo