सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गरिने

सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गरिने


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उनले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने बताए ।

अर्थमन्त्री खतिवडाले सेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन समितिलाई आग्रह गरे ।अर्थमन्त्री खतिवडाले स्वपूँजीमार्फत राष्ट्रिय पूँजीको निर्माण गर्न सरकारले सेयर बजारलाई आधुनिक बनाउन चाहेको दावी गरे ।

बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्ताबीच छलफल गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्तालाई सचेत गराएका थिए ।

समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने सेयर बजारलाई सरकार आफैंले निरुत्साहित बनाउने काम गरेको उल्लेख गर्दै आपत्ति जनाएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले वर्तमान सरकार बनेयता किन सेयर बजार ओरालो लाग्दै गएको हो ? भन्ने पहिचान गरी अघि बढ्न सरकारको ध्यानाकर्षण गराए ।

केही दिनयता सेयर बजार ओरालो लाग्ने क्रम बढेर गएपछि सेयर लगानीकर्ताहरुले पनि सेयर बजार सुधार गर्न सरकारसँग माग गर्दैै आन्दोलन गरिरहेका छन । उनीहरुले अर्थमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

Logo