तेल चोर्न पाउनुपर्ने माग गर्दै ट्यांकर चालक आन्दोलनमा

तेल चोर्न पाउनुपर्ने माग गर्दै ट्यांकर चालक आन्दोलनमा


काठमाडौं । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे।

नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो। तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ। देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर ‘तेल मिलाउँदा’ प्रतिदिन डिजेल र पेट्रोलमा चार करोडभन्दा बढी मूल्यको तेल हिनामिना हुन्छ।

निगम स्रोतका अनुसार ट्यांकरमा लकिङ प्रविधि जडानपछि विराटनगरको एउटा अपवाद घटनाबाहेक चालकहरूले तेल चोरी गर्न पाएका थिएनन्। यसपछि नै उनीहरूले क्षेत्रीय डिपोहरूमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका हुन्।

निगमले चालकहरूको माग पूरा गरे तीन सेन्टिमिटर मिलाउने नाममा प्रतिदिन करोडौं घोटाला हुन्छ। एक खेपमा मात्रै प्रतिट्यांकर डिजेलतर्फ सातहजार चार सय २५ रूपैयाँको ७५ लिटर र पेट्रोलतर्फ सात हजार सात सय २८ रूपैयाँको ६९ लिटर घोटाला हुन्छ।

संघले शुक्रबार थानकोट डिपोमा १० सूत्रीय माग राखेर ४० वटा ट्यांकरको इन्धनसमेत अनलोड गरेनन्। ‘चालकहरूको यो माग निकै घातक छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘यो मागका पछाडि धेरै ठूलो भूमिका खेलिएको छ। सम्पूर्ण ट्यांकरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेर इन्धनमा ठूलो चलखेल गर्न खोजिएको छ। चालकहरूलाई दैनिक करोडौं मूल्यबराबरको इन्धनको घोटाला गर्न दिन मिल्दैन।’

उनकाअनुसार लकिङ प्रणालीले इन्धनको चोरी र चुहावट ९८ प्रतिशतसम्म नियन्त्रण गरेको थियो। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना ट्यांकरमा पनि चुहावट नियन्त्रणका लागि यही प्रविधि जडान गरेको छ। ‘हामीले सकेसम्म शतप्रतिशत चुहावट रोक्न आईओसीको सहयोगमा यो प्रविधि जडान गरेका थियौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ‘यति गर्दागर्दै पनि केही साताअघि विराटनगरको २० हजार लिटरको एउटा ट्यांकरबाट चालकले लकिङ प्रणाली बिगारेर दुई हजार पाँच सय लिटर डिजेल चोरी गर्‍यो।’ लकिङ प्रविधिलाई समेत नछाड्ने चालकको माग पूरा गर्न नसकिने निगमले जनाएको छ।

रेग्मीकाअनुसार निगमले वैज्ञानिक आधारमा ०.७५ लिटर प्रति किलोलिटरमा ‘टेम्परेचर लस ड्युटी टु ट्रान्जिट’ शीर्षकमा नोक्सानीको दर तोकेको छ। अर्थात् २० हजार लिटरको ट्यांकरमा भएको इन्धन एक डिग्री तापक्रम कम हुँदा डिजेल र मट्टितेलमा १५ लिटरसम्म नोक्सानी हुन्छ। पेट्रोलमा भने २१ लिटरसम्म नोक्सानी हुन्छ। यो नोक्सानीलाई मापदण्ड बनाएर निगमले चालकले ढुवानी गर्दा यति परिमाणमा नोक्सानी हुँदा मिनाहा गर्दै आएको छ । मापदण्डभन्दा बढी नोक्सानी अवैध मानिन्छ।

निगमका प्राविधिक अधिकृत सुवेदीले यसरी सम्पूर्ण ट्यांकरको बढी भएको च्याम्बरबाट कम भएको च्याम्बरमा इन्धन सार्न नमिल्ने जानकारी दिए।

प्राविधिकहरूका अनुसार यस्तो माग पूरा भए मिलोमतोमा एउटै ट्यांकरको च्याम्बरबाट प्रविधि प्रयोग गरी सयदेखि दुई सय लिटर तेल सजिलै चोर्न सकिन्छ। यसरी एउटा च्याम्बरबाट दुई सय लिटर तेल कम हुँदा बढी भएको च्याम्बरबाट कम भएको च्याम्बरमा तीन सेन्टिमिटरसम्म मिलाउनुपर्ने नाममा ९० लिटर तेल मिलाउनुपर्छ।

Logo