साहित्य

‘बादशाहको नयाँ लुगा’ कथामा के छ त्यस्तो ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली आलोचनाको शिखरमा छन् ।  सामाजिक सुरक्षा योजनाको प्रचार, निर्मला काण्डदेखि एसिया प्यासिफिक सम्मेलनलगायतका बिषयमा चर्को आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले बुद्दिजिविलाई थला पारि दिने अभिव्यक्ति दिएपछि थप आलोचना हुन् थालेका हो ।

प्रधानमन्त्री ओलीले यस अघि पनि बुद्दिजिवीहरुमाथि व्यंग्यात्मक टिप्पणी गरेका थिए।  ओलीको पछिल्लो अभिव्यक्तिमाथि नया शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पनि आलोचना गरेका छन् । ‘प्रम र वरपरकाले आफ्ना आलोचकहरूलाई थला पारिदिने, जुगाको स्याउँस्याउँ, एनजीओको ट्याउँट्याउँ आदि भन्नु अशोभनीयमात्र नभएर लोकतान्त्रिक संस्कार विपरित भयो है । कि हिजो राजतन्त्रविरूद्ध लड्नु बेठीक भन्नुपर्‍यो, कि लोकतन्त्रमा विरोध सहन सक्नुपर्‍यो ।  प्रमले पुनः ‘बादशाहको नयाँ लुगा’ कथा पढ्ने कि ?’

नेता भट्टराईले प्रधानमन्त्रीलाई कथा पढ्न सिफारिस गरेपछि यतिबेला सामाजिक संजालमा ‘बादशाहको नयाँ लुगा’ कथाको चर्चा चुलिएको छ।

कथामा के छ त्यस्तो ?

यो कथा ह्यान्स एण्डरसनले लेखेका हुन्।

दुई ठगहरुले बादशाहका लागि  अत्यन्त राम्रो पोशाक तयार गर्न सक्ने बताएका थिए।  जुन कसैले सपनामा पनि कल्पना गरेका नहोलान् । र उनीहरुले त्यो पनि भनेका थिए कि, त्यस चमत्कारी पोशाकलाई मूर्ख अथवा आफ्नो पदको लागि अयोग्य व्यक्तिले आफ्नो आँखाले देख्न सक्ने छैन ।

ठगहरुको चमत्कारी बचन सुनेपछि बादशाहले तुरुन्तै आफ्नो लागि त्यस्तै पोशाक तयार गर्ने आदेश दिए । ती दुई ठगहरुले कपडा बुन्ने र पोशाकका लागि धागो कात्ने तथा कपडा सिउने काम सुरु गरे । पोशाक तयार गर्ने काम कहाँसम्म पुग्यो भन्ने पत्ता लगाउन बादशाहले कयौँ पटक आफ्नो मन्त्रीहरुलाई ती ठगहरुले काम गरिरहेको ठाउँमा पठाए । मन्त्रीहरुले प्रत्येक पटक त्यहाँबाट फर्केर पोशाक धमाधम तयार भइरहेको आफ्नै आँखाले देखेको र त्यो एकदमै राम्रो रहेको कुरा बादशाहलाई बताए । वास्तवमा तिनीहरु झुठो बोलिरहेका थिए, किनभने तिनीहरुले केही पनि देखेका थिएनन् । तर तिनीहरुमा साँचो कुरा भन्ने साहस थिएन, किनभने त्यसो गरेमा तिनीहरुलाई मूर्ख ठानिन्थ्यो अथवा मन्त्री पदको लागि अयोग्य मानिन्थ्यो । यो कुरा तिनीहरुका लागि झन् हानिकारक हुन्थ्यो ।

बादशाहको इच्छा के थियो भने, जब उनको नयाँ पोशाक तयार हुनेछ, तब उनी पहिले नै कुनै दिन निश्चित गरेर एउटा भव्य समारोहको आयोजना गर्नेछन् र त्यही मौकामा आफ्नो नयाँ पोशाक लगाउने छन् । आखिरमा त्यो दिन पनि आइपुग्यो । दुबै ठगहरुले बादशाहलाई आफ्नो पुरानो कपडा फुकाल्न भने । त्यसपछि तिनीहरुले आफ्नो हाउभाउद्वारा बादशाहलाई नयाँ पोशाक लगाइदिन लागेझैँ गरे । त्यहाँ उपस्थित बादशाहका सेवकगण आफूलाई मूर्ख या पदको लागि अयोग्य ठानियोस् भन्ने चाहँदैनथे । त्यसैले तिनीहरु पोशाकको प्रशंसामा ‘वाह ! वाह !’ गर्न थाले । बादशाहले पनि नोकर–चाकरको सहमतिमा आफ्नो टाउको हल्लाएर परम सन्तोष व्यक्त गरे । त्यसपछि उनी नाङ्गै नै महलबाहिर निक्लिए तथा शहरमा घुमफिर गर्न लागे । सडकमा आवत–जावत गर्ने मानिसहरु पनि मूर्ख नठानियोस् भनेर बादशाहको नयाँ पोशाकको प्रशंसा गर्न लागे, मानौँ त्यो पोशाक उनीहरुले सँच्चि नै देखिरहेका होऊन् । तर त्यसैबेला एउटा बच्चाले अचानक बडो सरलतापूर्वक भनिदियो, ‘ओहो ! यो मान्छेको जिउमा एउटा लुगा पनि छैन ।’

यो कुरो त्याहा रहेका अनेक मानिसहरुका कानमा पर्यो । र, एकएक गरी यो कुरा सबै मानिसहरुमा पुग्यो । अब उनीहरु हाँस्न र हल्ला गर्न लागे । उनीहरु भन्दै थिए – ओहो, साँच्चै बादशाहले त एउटा लुगा पनि लगाएका छैनन् । बादशाहको मनमा उनीमाथि छल गरिएको छ भन्ने आशंका अचानक पैदा भयो । तर उनको लागि यस रमितालाई अन्त्य गर्नु पनि त्यति सजिलो थिएन । त्यसैले उनी झन् ठाँटसँग गजक्क परेर हिँड्न लागे र आफ्नो आशंका समाप्त गरेपछि मात्रै दरबारमा फर्किने निश्चय गरे ।

त्यसपछि के भयो भनेर ह्यान्स एण्डरसनले भनेका छैनन् । तर कथा वास्तवमा यहीँ सकिएको थिएन । बरु त्यसपछि अरु पनि धेरै कुरा देख्न पाइएको थियो ।

रमितेहरुको भीडमा बादशाह अगाडिअगाडि हिँडिरहेका थिए, मानौँ केही भएकै छैन । उनी यति अर्रो भएर ठाँटसँग हिँडिररहेका थिए कि उनको पिठ्यूँ र गर्दन दुख्न थालिसकेको थियो । उनका नोकरहरु पनि उनको पछिल्तिर यसरी हिँडिरहेका थिए, मानौँ तिनीहरु बादशाहको राजसी पोशाकको फेर समातिरहेका छन् । यस्तो स्वाङ पार्न तिनीहरुले जुन भूमिका खेल्नु परिरहेको थियो, त्यससँग तिनीहरु राम्ररी परिचित थिए । तर आफ्नमो मुखबाट हाँसोको खित्का नछुटोस् भनेर तिनीहरुले आफ्नो ओठालाई दाँतले थिचिरहेका थिए । किनभने तिनीहरु आफूलाई मूर्ख ठानियोस् भन्ने चाहँदैनथे । बादशाहका अंगरक्षकहरु भुइँमा आँखा गाडेर हिँडिरहेका थिए, किनभने आपसमा तिनीहरुको आँखा जुध्ला र हाँसोको फोहोरा निस्केला भन्ने तिनीहरुलाई ठूलो डर थियो ।

तर जहाँसम्म नगरवासीहरुको प्रश्न थियो, उनीहरु त सीधा, सादा र निष्कपट हृदयका मानिसहरु थिए । हाँसो रोक्नका लागि ओठ टोक्ने वा आँखा भुइँतिर फर्काएर हिँड्ने कुरामा उनीहरुको ध्यान थिएन । त्यसैले आफ्नो बादशाह नाङ्गै सडकमा हिँडिरहेका छन् र भन्ने नाङ्गो सत्य जब उनीहरुको अघिल्तिर प्रस्तुत भयो, तब उनीहरु खित्का छाडेर हाँस्न थाले ।

‘ओहो ! कति राम्रो राजा ! हेर न कति ठाँट्टिएर हिँडिरहेका छन् ।’ कुनै व्यक्तिले व्यंग्यपूर्ण मुस्कानसहित भन्यो ।

‘आफ्नो होसहवासै गुमाएजस्ता छन् ।’ अर्कोले अट्टहास गर्यो ।

‘कति दुब्लो र कुरुप हेर त !’ तेस्रो व्यक्तिले छेड हान्दै भन्यो ।

‘उनको काँध र खुट्टामा हेर त ! प्वाँख उखेलिएको बकुल्लाजस्तो छ ।’ चौथो व्यक्तिले भन्यो ।

मानिसहरुका यस्ता टीकाटिप्पणी सुनेर बादशाहले आफूलाई अपमानित अनुभव गरे । उनलाई रिस उठ्यो । उनले आफ्नो सवारी रोकिदिए । त्यसपछि आफ्ना मन्त्रीहरुलाई हकार्दै उनले भने, ‘तिमीहरु यी मूर्ख र कृतघ्न मानिसका कुराहरु सुनिरहेका छौ ? मानिसहरु बक्बक् गर्दै हिँडिरहेका छन् । तिमीहरु तिनलाई किन चूप लगाउन्नौ ? मेरो नयाँ राजसी पोशाक कति राम्रो छ ! यो पोशाक पहिरिएपछि मेरो राजसी ठाँटमा कत्रो बढोत्तरी भएको छ । आखिर तिमीहरु सबैले पनि त यो पोशाकको प्रशंसा नै गरिरहेका छौ । अबदेखि म यही पोशाक नै लगाउने गर्छु, अरु लुगा लगाउँदिन । मलाई नाङ्गै छ भनेर भन्ने आँट गर्ने कुनै पनि व्यक्ति वास्तवमा पाजी र गद्दार हो । त्यसैले त्यस्तो व्यक्तिलाई गिरफ्तार गरेर फाँसीको सजायँ दिनुपर्छ । यो मेरो नयाँ कानून हो । यो कानून हुने तुरुन्त घोषणा गर ।’

बादशाहका मन्त्रीहरु तुरुन्तै यस काममा व्यस्त भए । तिनीहरुले झ्याली पिटेर मानिस जम्मा गर्न र यो नयाँ कानून लागू हुने घोषणा ठूलो आवाजमा गर्नका लागि कटुवालहरुलाई आदेश दिए । यस घोषणापछि त्यसको असर के पर्यो भने केही समयका लागि मानिसहरुको हाँसो र छेडछाड थामियो । यसले गर्दा बादशाह धेरै खुसी भए र आफ्नो लावालस्करसहित अगाडि बढे । तर उनी धेरै पर नपुग्दै फेरि मानिसको हाँसो र छेडछाडको आवाज बारुदको विस्फोटजस्तै उनको कानमा पर्न थाल्यो ।

‘उनको शरीरमा एक धेरोसम्म छैन ।’

‘उनको छाला कति घिनलाग्दो र अशोभनीय छ ।’

‘छि कस्तो किसिमको नयाँ लुगा हो यो ?’

मानिसहरु छेडछाड गरिरहेका थिए र बीचबीचमा खित्का छाडेर हाँसिरहेका थिए ।

बादशाहलाई फेरि रिस उठ्यो । उनी मन्त्रीतिर फर्किए र रिसले गर्जिंदै भने, ‘तिमीहरुले सुनेनौ तिनीहरु के बक्दैछन् ?’

‘हो हजुर ! हामीले सुन्यौँ ।’ डरले काँप्दै मन्त्रीहरुले जवाफ दिए ।

‘त्यसोभए तिमीहरुले भर्खरै मैले बनाएको नयाँ कानून बिर्सियौ ?’

बादशाहले आफ्नो कुरा सिध्याउनुअघि नै मन्त्रीहरुले घोचपेच गर्ने र हाँस्ने सबै मानिसहरुलाई पक्रेर ल्याउन सैनिकहरुलाई आदेश दिए ।

मानिसहरुमा खलबली मच्चियो । सैनिकहरु आफ्ना भालाहरु उज्याउँदै दगुरादगुर गरेर ती मानिसहरुलाई धरपकड गर्न थाले, जो त्यहाँबाट उम्केर भाग्ने प्रयास गरिरहेका थिए । यो दगुरादगुर र भागम्भागमा थुप्रै मानिसहरु भुइँमा पछारिए । केही मानिसहरु मानिसहरुमाथि कुल्चिएर उफ्रिँदै भाग्न पुगे । त्यसैले अब हाँसो र छेडछाडको साटो मानिसहरुको चित्कार र रुवाबासी सुनिन थाल्यो । लगभग पचास जनालाई पक्राउ गरियो । राजाको कानून कतिको कडा छ भनेर प्रजाहरुले बुझून् र कसैले पनि त्यस कानूनलाई अबहेलना गर्न नसकून् भनेर बादशाहले पक्राउ परेका मानिसहरुलाई घटनास्थलमै मारिदिने आदेश दिए ।

यो घटनापछि बादशाह नितान्त नाङ्गै रहन थाले । कहाँसम्म भने उनी आफ्नी रानीको महल र राजदरबारमा पनि एकदम नाङ्गै जान्थे र बेलाबेलामा आफ्नो पोशाकमा परेको मुजा सम्याइरहेजस्तो हाउभाउ पनि देखाउँथे । जब बादशाहका भित्रीनी र दरबारका अरु नोकरचाकरहरु दुब्लो, पातलो र घिनलाग्दो प्राणीजस्ता यी बादशाहलाई त्यस्तो उपद्रो गरिरहेको देख्थे, तब सुरुसुरुमा तिनीहरुलाई बडो अनौठो लाग्थ्यो र तिनीहरु बादशाहतिर हेर्नुको साटो भुइँतिर हेर्न थाल्थे । तर बिस्तारै बिस्तारै तिनीहरुलाई यस्तै कौतुहलपूर्ण दृश्यलाई हेर्ने बानी बस्न थाल्यो र तिनीहरु आफ्नो टाउको एकदम सीधा पारेर कुनै विशेष कुरा केही नभएझैँ गरी अघिल्तिर हेर्न थाले । अब तिनीहरुलाई यो कुरा हाँस्यास्पद लाग्दैनथ्यो । त्यसैले तिनीहरु बादशाहतिर यस्तरी हेर्थे, मानौँ बादशाहले आफ्ना सबै लुगाहरु लगाएकै छन् । भित्रीनी र दरबारका ती कारिन्दाहरुलाई त्यस्तो किसिमको देखावटी व्यवहार गर्नु एकदम जरुरी पनि थियो, किनभने त्यसो नगर्दा तिनीहरुले आफ्नो पदमात्र होइन, जीवनसमेत गुमाउनुपर्ने अवस्था आउन सक्थ्यो । तर यस्तो कोसिस र सावधानी अपनाउँदा अपनाउँदै पनि यदि एकपलमात्रै भए पनि तिनीहरु चुके भने त्यसले तिनीहरुलाई संकटमा पार्न सक्थ्यो । दुईजनालाई त्यस्तै संकट परेको थियो ।

कुरो के भयो भने एक दिन बादशाह रक्सी खाइरहेका थिए । उनकी एउटी रखौटी उनको नजिकै उभिएकी थिई । उसले प्यालामा रातो रक्सी खन्याई र फेरि त्यो प्याला बादशाहको मुखमा पुर्याएर बादशाहर्ला प्रसन्न पार्ने प्रयास गरी । उसले बडो मायालु शैलीमा बादशाहलाई भनी, ‘तपाईं यसलाई पिउनुहोस् महाराज । तर्पांलाई धेरै लामो आयु प्राप्त होस् भन्ने म कामना गर्दछु ।’

बादशाह निकै खुसी भए र उनले त्यो रक्सी स्वाट्टै पिएर प्याला रित्याइदिए । तर बादशाहले एकैपटक प्यालाको रक्सी स्वाट्टै निलेकाले उनलाई खोकी लाग्यो र अलिकति रक्सी छचल्किएर उनको छातीमा पर्यो ।

‘ओहो ! रक्सीको केही थोपा छचल्किएर हजुरको छातीमा परेछ !’

‘के भन्या ? मेरो छातीमा ?’

त्यस रखौटीलाई तुरुन्तै आफ्नो गल्तीको आभाष भयो । अनि उसको राम्रो अनुहार डरले कालो–नीलो भयो । ‘होइन, होइन, छातीमा होइन,’ उसले काँपेको आवाजमा आफ्नो गल्ती सच्याउँदै भनी । ‘हजुरको पोशाकमा केही छिटाहरु परेका छन् ।’

‘तर तिमीले अहिले भर्खरै मेरो छातीमा रक्सी पर्यो भनेकी थियो । वास्तवमा तिमी के भन्न चाहन्छ्यौ भने मैले कुनै लुगा लगाएकै छैन । मूर्ख आइमाई ! तिमी एउटी दुष्ट आइमाई हौ र तिमीले मेरो कानून उल्लंघन गरेकी छौ !’ यसपछि बादशाहको सेवकले त्यस रखौटीलाई त्यहाँबाट घिच्याएर लग्यो ।

दोस्रो घटना चाहिँ अत्यन्त बुद्धिमान एउटा मन्त्रीसँग सम्बन्धित थियो । यी मन्त्रीले पनि बाध्यतावश अरुले जस्तै बादशाहको पोशाक देखेको अभिनय गर्ने बानी पारेका थिए । तर पनि जब बादशाहले सिंहासनमा बसेर मन्त्री र भारदारहरुबीच आफ्नो काम सुरु गर्थे, तब नचाहँदा नचाहँदै पनि यी मन्त्रीको मनमा के विचार आइहाल्थ्यो भने राजसिंहासनमा नाङ्गै बस्ने यस्तो व्यक्तिलाई बादशाह भन्नु अर्थहीन कुरा हो । उनी सोच्थे, यस्तो व्यक्तिलाई बादशाह होइन, ‘भुत्ला नभएको बाँदर’ भन्नु बढी उपयुक्त हुन्छ । कहीँ कुनै दिन आफ्नो मुखबाट कुनै गलत कुरा निस्कने पो हो कि वा कुनै गलत मौकामा आफ्नो मुखबाट खित्का छुट्ने पो हो कि भनेर मन्त्रीलाई डर लागिरहन्थ्यो । यदि त्यस्तो भएछ भने आफ्नो सर्वनाश हुनेछ भनेर उनलाई डर लागिरहन्थ्यो । त्यसैले यी मन्त्रीले आफ्नी आमा निकै बूढी हुनुहुन्छ, घरमा गएर बूढी आमाको स्याहार–सुसार गर्न पाउँ भन्ने बहाना बनाएर आफूलाई मन्त्रीपदबाट मुक्त गरिदिन बादशाहलाई अनुरोध गरे ।

‘एउटा मातृभक्त पुत्रको प्रार्थना स्वीकार गर्नु मेरो लागि खुसीको कुरो हो ।’ यसो भनेर बादशाहले उनलाई नोकरी छोड्नका लागि अनुमति दिए ।

अनि यी मन्त्रीले आफूमाथि कृपा गरेकोमा बादशाहलाई धन्यवाद दिए र उनीसँग विदा भएर त्यहाँबाट हिँड्न तयार भए । पदमुक्त भएपछि मन्त्रीलाई कुनै कठोर बन्धनबाट छुट्कारा पाएजस्तो प्रतीन भयो । त्यसैले उनले सोचविचारै नगरी प्याच्च भनिहाले, ‘हे भगवान, तिमीलाई कोटीकोटी धन्यवाद छ । मैले अब यो नाङ्गो बादशाहलाई फेरि हेर्नुपर्ने छैन ।’

मन्त्रीको यो भनाइलाई बादशाहले प्रष्टसँग सुन्न सकेनन्, त्यसैले उनले आफ्ना सेवकहरुसँग सोधे, ‘यसले के भन्यो हँ ?’

बादशाहको रिसाहा अनुहार देखेर सेवकहरुले उनलाई साँचो कुरा भनिदिए ।

‘ए ! तिमीले नोकरी छोड्न अनुमति मागेको कारण त मलाई नाङ्गै हेर्न नसकेर पो रहेछ ।’ बादशाह गर्जिए । ‘मैले बनाएको कानूनलाई तिमीले भङ्ग गर्यौ । हेरौँला, अब तिमी आफ्नो घर कसरी जान्छा ।’

बादशाहले त्यहीबेला ती मन्त्रीलाई दरबारबाट लगेर मारिदिन आफ्ना जल्लादहरुलाई आदेश दिए । त्यसपछि बादशाहको दरबार र राज्यमा उनको कानूनको उल्लंघन हुन नपाओस् भनेर प्रत्येक व्यक्ति निक्कै चनाखो रहन थाले ।

तर आम मानिसहरु बादशाहको रखौटी र दरबारका कर्मचारीहरुजस्तो त्यति व्यवहारकुशल थिएनन् । बादशाह जब उनीहरुको अघिल्तिर प्रकट हुन्थे, तब उनीहरु उनको हाउभाउ र घिनलाग्दो शरीर देखेर उनको खिल्ली नउडाइरहन सक्दैनथे । त्यसको नतिजा के भयो भने अनेक मानिसलाई मृत्युको मुखमा पुर्याइयो । एक दिन जब देवताहरुलाई बलि चढाउनका लागि बादशाह पूजास्थलमा पुगे, तब उनले तीन सय मानिसहरुलाई मार्न लगाए । त्यसपछि फेरि एक दिन आफ्नो सैन्यदल निरीक्षण गर्न गए, त्यसबेला उनले पाँच सय मानिसहरुलाई मार्न लगाए । यसैगरी शहरमा बादशाहको शाही भ्रमणको क्रममा एक हजारभन्दा पनि बढी मानिसहरुले आफ्नो ज्यान गुमाउनुपर्यो, किनभने नगरको सडकबाट बादशाहको सवारी चलिरहेको बेला थुप्रै मानिसहरुले उनलाई देखेर आफ्नो हाँसो थाम्न सकेका थिएनन् ।

बादशाहका एकजान बूढा मन्त्री थिए । उनी दयालु हृदयका थिए । उनी के अनुभव गर्थे भने यति धेरै संख्यामा मानिसहरुको हत्या गर्नु एउटा निर्ममतापूर्ण काम हो । यस कामलाई बन्द गर्नुपर्छ । तर उता बादशाह भने आफूले गलत काम गरिरहेको मान्न पटक्कै तयार थिएनन् । बादशाहको के विचार थियो भने उनको गल्ती औँल्याउने मान्छे स्वयं एउटा ठूलो अपराधी हो । तर बूढा मन्त्री सोच्थे, कुनै यस्तो उपाय गर्न सकियोस्, जसले गर्दा बादशाह फेरि लुगा लगाउन तयार होऊन् । त्यस्तो भएमा मानिसहरुले कुरा काट्ने र अट्टहास गर्ने काम स्वतः बन्द गर्नेछन् र त्यसपछि हत्याको यो सिलसिला पनि समाप्त हुनेछ । उनी सधैं यही चिन्तामा डुबिरहन्थे । बादशाहर्ला फेरि लुगा लगाउन राजी गराउने कुन चाहिँ जुक्ति सबभन्दा बढी उपयोगी र सुरक्षित होला भनेर सोचविचार गर्दागर्दै उनले कयौँ रात नसुतेरै बिताए ।

अन्त्यमा बूढो मन्त्रीलाई एउटा उपाय सुझ्यो । अनि उनी बादशाहलाई भेट गर्न राजदरबार गए । उनले भने, ‘म तपाईंको एउटा बफादार सेवक हुँ । त्यसैले तपाईलाई एउटा सुझाव दिन चाहन्छु । र, के आशा गर्छु भने महाराजले मेरो सुझावमाथि अवश्य नै विचार गर्नुहुनेछ । महाराजलाई सधैं नै नयाँ नयाँ पोशाक लगाउने सोख रहेको छ । यो उचित पनि छ, किनभने नयाँ र शानदार पोशाकहरुले तपाईंको प्रतिष्ठा र गरिमाको वृद्धि गर्छन् । तर यता केही समयदेखि तपाईंले आफ्नो लागि कुनै तयाँ पोशाक बनाउन लगाउनुभएको छैन । तपाईं आफ्नो राजकाजको काममा यति व्यस्त रहनुभयो कि यसतर्फ तपाईंको ध्यानै गएन । यतिखेर तपाईं जुन पोशाक पहिरिनु भएको छ, त्यसको रंग अलिअलि खुइलिँदै जान थालेको छ । आफ्ना सुचीकारहरुलाई नयाँ पोशाक तयार गर्न तपाईं किन आदेश दिनुहुन्न ? त्यो नयाँ पोशाक पहिरिएर तपाईं केही नवीनता अनुभव गर्न सक्नुहोस् भन्ने मेरो शुभकामना छ ।’

‘के भन्यौ ? यो पोशाकको रंग उड्न थालेको छ रे ?’ बादशाहले आफ्नो पोशाकमा एकपटक हेरे र आफ्नो शरीरमा हातले सुमसुम्याएर भने, ‘तिमी बकवास गर्दैछौ । यो त चमत्कारी पोशाक हो । यसको रंग कहिल्यै खुइलिँदैन । यो पोशाकबाहेक म अर्को कुनै पोशाक कहिल्यै लाउँदिन भनेर मैले भनिसकेको छु । यो कुरा तिमीले सुनेका थिएनौ र ? यो पोशाक फुकालेर म कुरुप देखियुँ र भाग्यले मेरो साथ छोडोस् भन्ने तिमी चाहन्छौ होला । ल भैगो ! तिम्रो अहिलेसम्मको सेवा र वृद्धावस्थालाई विचार गरेर म तिमीलाई जल्लादहरुकहाँ त पुर्याउन्न, तर तिमीले आफ्नो बाँकी जीवन एउटा कैदीको रुपमा अवश्य नै जेलमा बिताउनुपर्नेछ ।’

त्यस वृद्ध मन्त्रीले त्यत्तिका सोचविचार गरेर जे–जति प्रयास गरेका थिए, त्यसको कुनै राम्रो नतिजा निक्लिएन । त्यसैले मानिसहरुलाई मृत्युदण्ड दिने सिलसिला पहिलेझैं जारी रह्यो । त्यतिमात्र नभएर मानिसले बादशाहको खिल्ली उडाउन बन्द नगरेकाले बादशाह झन् बढी रिसाउन थाले र उनले पहिलेको भन्दा कडा कानून बनाइदिए । उनले के फरमान जारी गराए भने उनी जहाँजहाँबाट हिँड्छन्, त्यहाँ मानिसहरुले कुनै पनि किसिमको हल्ला खल्ला नगरुन्, यदि कसैले मुखबाट एक शब्दमात्रै निकालेको सुनियो भने पनि त्यस अपराधको निमित्त उसलाई मृत्युदण्ड दिइनेछ ।

बादशाहद्वारा यस्तो नयाँ कानूनको घोषणा गरिएकोमा नगरका तमाम इमान्दार मानिसले बादशाह सीमाभन्दा निक्कै अगाडि बढेको अनुभव गरे । बादशाहको खिल्ली उडाउनु निःसन्देह उचित थिएन, तर मानिसले अरु नै विषयमा कुराकानी गरेछन् भने पनि उनीहरुलाई मृत्युदण्ड दिइने कुराको पनि आखिर के औचित्य छ र ? त्यसैले यस्तो सोच्ने जति सबै मानिसहरु बादशाहको महलमा पुगे र उनीहरुले घुँडा टेकेर बादशाहसँग गुनासो गर्न लागे । उनीहरुलाई देखेर बादशाह केही उद्विग्न भए र बाहिर निक्लेर उनीहरुलाई धम्क्याउँदै उनले भने, ‘तिमीहरु यहाँ किन आएका हौ ? के तिमीहरु विद्रोह गर्ने मनसायले आएका हौ ?’

ती इमानदार मानिसहरुलाई टाउको उठाउने साहस भएन । त्यसैले उनीहरुले छिटोछिटो जवाफ दिए, ‘होइन, होइन, महाराज ! हजूरले हाम्रो कुरा गलत बुझ्नुभयो । हाम्रो त्यस्तो केही इरादा छैन ।’

उनीहरुको कुरा सुनेर बादशाहको हंस ठाउँमा आयो । र, उनी आफ्नो कपडाको मुजा मिलाएझैं हाउभाउ देखाउन थाले, जुन कपडा उनले लगाएकै थिएनन् । तुरुन्तै फेरि उनको मुद्रा केही कठोर भयो र उनी अझ बढी धाक देखाउँदै बडो गजक्क परेर भन्न थाले, ‘त्यसो भए तिमीहरु यहाँ किन आएका हौ त ?’

‘हामी कुराकानी गर्ने र हाँस्ने हाम्रो स्वतन्त्रता फिर्ता गरियोस् भन्ने फिराद लिएर महाराजसमक्ष बिन्ती गर्न आएको हौँ । हजूरका बारेमा जथाभावी बोल्ने या खिल्ली उडाउने जति पनि मानिसहरु छन्, तिनीहरु वास्तवमा खराब हुन्, तसर्थ तिनीहरुको प्राण लिनै पर्दछ । तर हामीहरु त सबै राम्रा र इमान्दार नागरिकहरु हौँ । त्यसैले हजूरले आफ्नो नयाँ कानून फिर्ता लिइदिन बिन्ती गर्न आएका हौँ ।’

‘तिमीहरुलाई कसरी स्वतन्त्रता चाहन्छौ भने मेरा प्रजाका रुपमा रहने अधिकार कसरी पाउन सक्छौ ? यदि तिमीहरु मेरा प्रजाका रुपमा रहन चाहन्छौ भने तिमीहरुले मेरो कानूनको पालना त गर्नैपर्छ । र, मेरो कानून निकै कडा छ । त्यस्तो कानूनलाई खारेज गर्ने त प्रश्नै आउँदैन ।’

यसो भनेर बादशाह आफ्नो महलभित्र फर्केर गए ।

त्यहाँ रहेका इमान्दार नागरिकहरुलाई अब थप कुरा भन्ने साहस भएन । त्यहाँ रहेकामध्ये केही मानिसले बिस्तारैबिस्तारै आफ्नौ शिर अलिकति माथि उठाएर हेरे । बादशाह यहाँबाट गइसकेका छन् भन्ने थाहा पाएर उनीहरुले के बुझे भने घरतिर फर्किनुबाहेक आफ्नो अगाडि अब अर्को कुनै विकल्प छैन ।

केही दिन बितेपछि उनीहरुले एउटा नयाँ जुक्ति अपनाए । त्यसअनुसार, जब बादशाह सडकमा निस्कन्थे, जब उनीहरु आफ्नो घरभित्र जान्थे र ढोका बन्द गर्थे । अब उनीहरु घरबाट बाहिर निक्लिएर सडकमा आउन हिच्किचाउन थालेका थिए ।

एक दिन बादशाह आफ्ना मन्त्रीहरु र अंगरक्षकहरुलाई साथ लगाएर महलबाट आफ्नो गढीतिर हिँडे । बादशाहको सवारी चलिरहेको बेला जहाँजहाँ बादशाह पुगे, त्यहाँत्यहाँ नगरका सडकहरु एकदम सुनसान थिए । सडकको दायाँ–बायाँका घरमा झ्याल ढोकाहरु सबै बन्द भएका थिए । सवारीको ताँती रातीराती हिँड्ने सेनाको टुकडीजस्तो चूपचाप हिँडिरहेको थियो । त्यसबेला हिँड्दाखेरी भुइँमा पर्ने पाइलाको आवाजसिवाय अरु केही सुनिँदैनथ्यो । हिँड्दाहिँड्दै बादशाह अचानक अडिए र उनको कान ठाडो भयो । र, गर्जिंदै उनले आफ्ना मन्त्रीहरुलाई सोधे, ‘तिमीहरुले यो आवाज सुन्यौ ?’

मन्त्रीहरुले कान ठाडो पारेर त्यस आवाजलाई सुन्ने कोसिस गर्न लागे ।

‘हजुर, हामीले सुन्यौँ, सायद कुनै बच्चा रोएको आवाज हो ।’ एउटा मन्त्रीले जवाफ दियो ।

‘कुनै आइमाईले गीत गाएकी हो कि जस्तो पनि छ !’ अर्को मन्त्रीले अनुमान लगायो ।

‘सायद कुनै मानिस रक्सीले फिटान भएर भुत्भुताइरहेको होला ।’ तेस्रो मन्त्रीले भन्यो ।

बादशाहलाई लाग्यो, उनका मन्त्रीहरु उनको कुरालाई हल्काफुल्का ढंगले लिएर उडाउँदैछन् । त्यसैले उनले एकदम रिसाएर चिच्याउँदै भने, ‘मैले बनाएको नयाँ कानूनलाई तिमीहरुले बिर्सियौ कि क्या हो ?’

मन्त्रीहरुले आफ्नो आज्ञाकारिताको परिचय दिँदै अंगरक्षकहरुलाई आदेश दिए, ‘सबै बन्द ढोकाहरुलाई फोडेर घरभित्र जाओ र जोसुकैले चुँसम्म गरेर आवाज निकालेका भए पनि समात र तिनीहरुलाई प्राणदण्ड दिनका लागि जल्लादहरुलाई सुम्पिदेओ, चाहे तिनीहरु आइमाई हुन्, या पुरुष, जवान होऊन् या बृद्ध ।’

ठीक त्यसैबेला एउटा अप्रत्याशित कुरा देखियो । अंगरक्षकहरुले घरको ढोका फोडेर जबरजस्ती भित्र पस्ने बित्तिकै ती घरका पुरुषहरु, महिलाहरु र केटाकेटीहरुको भीड कराउँदै बाहिर निक्लियो । ती मानिसहरु हुरिएर बादशाहको नजिक पुगे । उनीहरुले बादशाहलाई बेस्सरी अँठ्याए । त्यति मात्र होइन, उनीहरुले आफ्ना हत्केलाले बादशाहको शरीरलाई कोपर्दै र थिचोर्दै चिच्याएर भने, ‘यसको अदृष्य लुगालाई च्यातिदेओ । यसको जिउबाट त्यो लुगा फुकालेर फालिदेऊ !’

यसपछिको दृष्य त झन् बढो हाँस्यास्पद र कोलाहलपूर्ण थियो । पुरुषहरु बादशाहका सुकेका र झिना पाखुरा बटारिरहेका थिए भने महिलाहरु उनका कैला रौँहरु भएको ध्याँसे छातीमा आफ्ना नरम औँलाहरु चलाएर उनलाई सताइरहेका थिए । दुईवटा बच्चाहरु पनि भीडको बीचबाट ठेलमठेल गर्दै उनीकहाँ आइपुगे र तिनले आफ्ना स–साना हातहरु उचालेर उनको काखीका रौँहरु भुत्ल्याउन थाले । यस प्रकारले बादशाहलाई सबैतिरबाट घेरियो र उनले त्यसबाट भाग्ने कुनै बाटो पाएनन् । अनि उनले आफ्नो शीर झुकाए ।

त्यसपछि एउटा डुम्सीले जस्तै आफ्नो शरीरलाई लुकाएर भीडको ताडनाबाट जोगिने प्रयास गर्न थाले । तर उनी जोगिन सकेनन् । आफ्ना दुबै काखीका रौँहरु उखेल्ने र कुटकुटी लगाउने गरिनाले बादशाहलाई खपिनसक्नु पीडा र छट्पटि भइरहेको थियो । त्यसैले उनले आफ्ना दुबै हातहरु जिऊमा राम्ररी टाँसिने गरी बेस्सरी च्यापे । तैपनि उनले यो समस्याबाट छुट्कारा पाउन सकेनन् । दुबै काँधको बीचमा आफ्नो टाउकोलाई खुम्च्याएर नाक–मुख खुम्च्याउँदै दयनीय अनुहारमा बिलौना गर्नु शिवाय उनले अरु केही पनि गर्न सकेनन् । उता मानिसहरुको उन्मादी लहड सकिने कुनै छाँट देखिन्नथ्यो ।

मानिसहरुका घरहरुबाट निक्लिएर भर्खरै मात्र बाहिर आइरहेका बादशाहका अंगरक्षकहरुले बादशाहको हुलिया विच्छिको डसाइबाट आहत र त्रस्त बाँदरको जस्तो निकै हाँस्यास्पद देखे । बादशाहलाई यस रुपमा देखेर उनीहरुले उनीप्रति सम्मान प्रकट गर्न बिर्सिए । अनि आम मानिसहरुले जस्तै उनीहरु पनि खिड्का छोडेर हाँस्न थाले । ती अंगरक्षकहरुलाई त्यसरी खित्का छाडेर हाँसेको देखेर बादशाहका मन्त्रीहरु पहिले त भयभीत भए, तर पछि जब तिनीहरुले खुसुक्क बादशाहतिर हेरे, तब तिनीहरु स्वयं पनि मज्जाले हाँस्न पुगे ।

यस्तो लाग्थ्यो, ती अंगरक्षक र मन्त्रीहरुलाई हाँस्ने रोगले बेस्सरी समातेको छ । हाँस्दाहाँस्दै तिनीहरुको पेट दुखिसकेको थियो । अचानक तिनीहरुलाई आफूहरुले बादशाहको कानून तोडिरहेका छौँ भन्ने ज्ञान भयो । अनि तिनीहरुलाई लाग्यो, यस अपराधको निम्ति गिरफ्तार पनि हुन सक्छौँ । यसअघि जब कुनै बेला मानिसहरु बादशाहको खिल्ली उडाउँथे तब उनीहरुलाई साजय दिनका लागि मन्त्री र अंगरक्षकहरुले नै बादशाहलाई मद्दत गर्नुपथ्र्यो । तर यसबेला तिनै मन्त्री र अंगरक्षक र मन्त्रीहरु नै बादशाहको खिल्ली उडाइरहेका थिए । तिनीहरुले फेरि एकपटक बादशाहतिर हेरे । मानिसहरुले कोपर्ने चिथोर्ने र चट्काउने गर्नाले बादशाहको शरीरमा जहीँतहीँ घाऊ र कालानीला दागहरु बनेका थिए । बादशाह पोको परेर बसेका थिए । यस्तो लाग्थ्यो कुनै मुरा पानीले रुझेर कुनै कुनामा असाहय बसिरहेको छ । निकै हाँस्यास्पद दृश्य थियो । कुनै पनि हाँस्यास्पद दृश्यलाई देखेपछि मानिसहरुले हाँस्नु स्वभाविक नै हो । तर बादशाहले एउटा कानून बनाएर मानिसहरुलाई हाँस्न प्रतिबन्ध लगाइदिएका थिए । कति मूर्खतापूर्ण कुरा ! यसैले उनका मन्त्री र अंगरक्षक पनि अरु मानिसहरुसँगसँगै ठूल्ठूलो स्वरले कराउँदै बादशाहसँग माग गर्न लागे, ‘आफ्नो अदृश्य पोशाकलाई फुकाल ! त्यसलाई आफ्नो शरीरबाट अलग्याउ ।’

जब बादशाहले आफ्ना मन्त्री र अंगरक्षकहरु पनि जनसमूहको पक्षमा गएका देखे र तिनीहरु आफूसँग डराउन छाडे भन्ने बुझे, तब उनलाई यति गहिरो चोट पर्यो कि उनी बेहोस् भएर जमीनमा यसरी पछारिए, मानौँ कसैले निक्कै ठूलो हठौडाले उनको टाउकोमा बजाइदिएको होस् !

अनुवाद – गोविन्द वर्तमान
मूल स्रोत – ‘ये शङ–थाओ की बालकथाएं
हिन्दी अनुवाद – आनन्द अग्निहोत्री, 
विदेशी भाषा प्रकाशन गृह, पेकिङ, १९८०’

Comment here

SKIP THIS