गृहमन्त्री थापाले के भने निर्मलाका परिवारलाई ?

गृहमन्त्री थापाले के भने निर्मलाका परिवारलाई ?


गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिनु भएको हो । हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिनुभएको कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिनु भयो । उहाँले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिएपछि न्याय पाउने आशा पलाएको प्रतिक्रिया पनि दिनु भयो ।

हत्या गरिएकी निर्मलाका बुबा, आमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्च स्तरीय छानवीन समितिमा स्थानीय नागरिकका तर्फबाट एक जना पनि प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए । नागरिक समाजलाई समेत समेटेर छानवीन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पनि अधिकारकर्मीले चन्दले बताउनु भयो ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजिमा काठमाडौं आईपुगेका छन । उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कार्वाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन ।

 

Logo