ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं

यतिबेला बजारमा आएका धेरै साहित्य सम्बन्धि पुस्तकहरु मध्ये स्कुल बेच्ने बालकको चर्चा अलि धेरै नै छ । "/>

स्कुल बेच्ने बालकसँग जिस्किदै गर्दा !

स्कुल बेच्ने बालकसँग जिस्किदै गर्दा !


ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं

यतिबेला बजारमा आएका धेरै साहित्य सम्बन्धि पुस्तकहरु मध्ये स्कुल बेच्ने बालकको चर्चा अलि धेरै नै छ । तर को हुन् ती बालक भनेर चैं कमैलाई मात्र थाहा होला । उनी हुन् हार्दिक , यस पुस्तकका हिरो , मुख्यपात्र । लेखक दामोदर न्यौपानेले एकजना सानो बालकसँग निकै गहिराईमा पुगेर उसले के के गर्छ , कस्तो स्वभाव देखाउँछ , बालबालिकाहरु कस्ता हुन्छन् , के गरेमा खुशि वा दुःखी बन्छन् लगायतका विषयहरुलाई शुक्ष्म अध्ययन गरि तयार पारेको पुस्तक स्कुल बेच्ने बालक सार्वजनिक भएको धेरै भएको छैन । तर पनि यस पुस्तकले निकै नै चर्चा पाएको छ ।

पुस्तक त्यस्तै नै हो , विषयवस्तु खोज्न लेखक कुनै नौलो ठाउँमा पुगेका छैनन् । न उनले कुनै नयाँ बाद वा शैली अपनाएका छन् तर पनि स्कुल बेच्ने बालक किन सफल भयो भन्नेहरु पनि छन् । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने साहित्यको पनि बालमनोविज्ञान बुझेर लेखिएका पुस्तकहरु अन्य पुस्तकको तुलनामा कमै मात्र लेखिएका छन् । यति मात्रै होइन बालकसँग खेलेर उनीहरुका भित्री कुराहरुलाई साहित्यमा उतार्न सजिलो पनि छैन । हामी केटाकेटी त हुन् नि , के वास्ता गर्नु उनीहरुलाई भन्छौं तर लेखक न्यौपाने ती केटाकेटीसँग सँगै दौडिएका छन् , उफ्रीएका छन् , रमाएका छन् , दुःखी पनि भएका छन् । अनि पो जन्माए स्कुल बेच्ने बालक ।

हुन पनि यसमा बालमनोविज्ञानलाई निकै घतलाग्दो पारामा उतारिएको छ । आफूले पत्रकारिता गर्दा रोजेको बालबालिकासँग रमाउने क्षेत्रले नै होला लेखकलाई उनीहरुका मनोविज्ञानसँग खेल्ने राम्रो वातावरण मिलेको छ । पुस्तकपात्र हार्दिक चकचके छ , जिज्ञासु छ अनि ऊ सँग बालसुलभ क्रियाकलापहरु पनि प्रशस्तै छन् । उसले जे देख्यो त्यहि बोलेको छ । उसले कहिल्यै झुटो बोलेको छैन । अर्को अर्थमा भन्नु पर्दा उसले अभिभावकलाई पढाएको पनि छ । यसर्थ पनि ऊ एउटा सफल पात्र बनेको छ । बालपात्रलाई उभ्याएर पनि सफलता पाउनु लेखकको लेखकिय क्षमता हो । जुन यसमा राम्ररी भेट्न सकिन्छ ।

बालबालिका काँचो माटो हुन् । उनीहरुलाई कस्तो आकार दिने भन्ने अभिभावकको हातमा हुन्छ । त्यति मात्र होइन , उनीहरु अपार सम्भावनाका खानी पनि हुन् । नराम्रो संगतले उनीहरु भविष्यमा नराम्रै बन्छन् । राम्रो वातावरणमा हुर्किएका बालबालिकाहरुले आफूलाई र परिवारलाई मात्र नभएर समाज र देशलाई नै एउटा गन्तव्यमा पुर्याउन सक्छन् । यस विषयमा लेखकले धेरै कुराहरु बुझेर नै कमल चलाएका छन् । हार्दिकका क्रियाकलापलाई एउटा माध्यम बनाएर विषय केन्द्रित गर्नु कम जटिल थिएन , किनकी उसले हरेक क्षण अभिभावकहरुलाई सताएको छ । दुःख दिएको छ अनि कहिलेकाहिं खुशि पनि बनाएको छ । यी सबैलाई पुस्तकको आकार दिनु पक्कै पनि सजिलो भने थिएन । तर पनि त्यो असजिलोलाई लेखकले सजिलो बनाएका छन् ।

साहित्य एकजनाको लागि लेखिंदैन , यो पक्कै पनि वास्तविक हो । समाजमा हजारौं हार्दिकहरु छन् । अनि हार्दिकका जस्तै लाखौं अभिभावकहरु पनि छन् । तर सबैले लेखकले जसरी केटाकेटीका दिमागलाई बुझेका छैनन् । विश्लेषण गरेका छैनन् । अनि बेवास्ताकै कारण आज थुप्रै हार्दिकहरु गलत बाटोमै पनि हिडेका छन् । ती गलत बाटोमा हिड्ने र अप्रत्यक्ष रुपमा हिंडाउन प्रयास गर्ने सबै अभिभावकहरुले बालमनोविज्ञान बुझ्न जरुरी छ । यो देखाउनु लेखकको मुख्य उद्देश्य हो । पुस्तक पढिसकेपछि यति कुराको जानकारी पाइन्छ ।

हामी हार्दिक जस्ता अलि थिएनौं । किनभने हामी गाउँमा हुर्कियौं । घर बाहिर निस्कियौं, खेल्यौं , रमायौं । तर यो काठमाडौं शहरमा यिनिहरुको जाने ठाउँ छैन । खेल्ने ठाउँ छैन । कोठामा थुनिए यिनिहरु । भुलिने ठाउँ पाएनन् । यता जाउँ त्यहि कोठा । उता जाउँ त्यहि कोठा । यता जाउँ बाउ ठोकिन्छन् , उता जाउँ आमा ठोकिन्छन् । अनि बाउआमा सताइएका हुन् । गाउँमा भए माटो खेलेरै घन्टौ बिताइदिन्थे । साथीसँग भाँडाकुटी खेलेर समय बिताइदिन्थे । सहरमा त्यो सुबिधा छैन । जेलमा छन् खासमा सहरका बालबालिका । त्यहि जेलबाट रिलिफ गराउनु पर्ने दायित्व छ सहरी अभिभावकमा । लेखकले पुस्तक लेख्नुको मुख्य उद्देश्य यसरी खोलेका छन् ।

उनी अगाडि भन्छन् , हामी हार्दिक जतिको ज्ञानी थिएनौं । बौद्धिक थिएनौं , सम्बेदनशिल पनि थिएनौं । किनभने हामिले उसको जस्तो अभिभावकको केयरिङ पाएनौं । शिक्षा पाएनौं , मात्र खेल्ने ठाउँ पायौ । घरबाट बाहिर निस्कन पायौं । त्यहि भएर अभिभावकलाई हुर्काउने समस्या भएन । बालबालिकालाई हेर्ने दृस्टिकोण बदलौं भन्ने अभियान हो मेरो । शिक्षाको शैलि बदलौं । सिकाइको शैलि बदलौं । बालबालिकामा सिकाइ र शिक्षा राम्रो नभै देश बन्दै बन्दैन । हामिले मुहान हेरेनौं , मुहान भन्दा तल मात्र सफा गरि राख्यौ, बागमती सफा गरे जस्तो । मुहानमा ढल हालेको छ अनि तलतिर चाहिँ सधैं सफा गरेर मात्र त भएन नि ।

पुस्तक आख्यान विधाको हो । लेखकिय भाषाहरु सरल र सजिलै बुझ्न सकिने खालका छन् । तर पनि यति ठूलो पुस्तक लेखिरहँदा लेखकले हार्दिकलाई मात्र केन्द्रित गरेर अरु बालप्रतिभा र पात्रहरुलाई ओझेलमा किन पारे त्यो भने पाठकलाई सधैं गढिरहने विषय बन्ने पो हो कि भनेर डर लाग्छ । यसको अन्र्तवस्तु के हो , उद्देश्य के हो भन्ने पनि भ्रम पर्न सक्छ । तर यहाँ बुझ्नु पर्ने कुरा के हो भने हार्दिक एउटा प्रतिनिधी मात्र हो । करोडौं हार्दिकहरुको ऊ नेतृत्वकर्ता हो । यसर्थ उसले स्कुल बेच्न सफल भएको छ । शिखा बुक्सले बजारमा ल्याएको यसको मुल्य ४५० छ । स्कुल बेच्ने बालक एउटा संग्रहणिय पुस्तक भएकोमा भने शंका छैन ।

Logo