'जदौ बुढा' अर्थात दाहाल यज्ञनिधि आज हामी माझ हुनुहुन्न । बि.स. २०१० मा खोटाङको खाल्लेमा जन्मिएका दाहाल धरानको वेद विद्यालयमा अध्ययनगरी २०३१ सालमा काठमाडौं प्रवेश गरेका थिए । "/>

दाहाल यज्ञनिधि: एक ‘अराजक’ स्रष्टा

दाहाल यज्ञनिधि: एक ‘अराजक’ स्रष्टा


‘जदौ बुढा’ अर्थात दाहाल यज्ञनिधि आज हामी माझ हुनुहुन्न । बि.स. २०१० मा खोटाङको खाल्लेमा जन्मिएका दाहाल धरानको वेद विद्यालयमा अध्ययनगरी २०३१ सालमा काठमाडौं प्रवेश गरेका थिए । सकसपूर्ण बाल्य र युवाकाल बिताएका उनले बि.स. २०३४ देखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम चलाउन थालेका हुन् ।

वाल्मीकि विद्यापीठबाट उनले शास्त्री पास गरेका थिए । दाहालले २७ वर्ष शिक्षण पेशा अंगाले । तर उनी आफुलाई सधैँ व्याकरणमा कमजोर मान्छन ।  साहित्यक र संस्कृती संरक्षणका लागि बुलन्द आवाज उठाउँदै आएका दाहालको अभियान र प्रस्तुतीलाई धेरैलेले ‘सकारात्मक अराजक’ पनि भन्ने गर्छन् ।

रेडियोबाटै नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनमा गर्दै आएका एक सर्जक तथा साहित्य र संस्कृतीका अभियन्ता हुन् दाहाल यज्ञनिधि । उनले साहित्य र संस्कृतीका गर्भमा लुकेका कुरा खोटलेर कयौ मानिसका मन र मष्तिष्कलाई सुखद तुल्याउँदै आए । नेपाली झर्रो शव्द प्रयोग गर्दै साहित्य र लोक संस्कृती जगेर्नामा लागि परेका उनै  सर्जक तथा अभियन्ता दाहालको निधनले नेपाली साहित्य र संचार जगतले क्षति व्योहोरेको छ । रेडियोमा उनले साहित्य कार्यक्रम, हाम्रो संस्कृति,  हाम्रो परम्परा लगायतका कार्यक्रमहरु पनि संचालन गरे ।

उद्घोषण कला र प्रस्तुति शैलीका कारण उनले चलाएका हरेक कार्यक्रमहरु लोकप्रिय हुन्थे । बिशेषत: ठेट नेपाली भाषा प्रयोग गर्न उनी माहिर थिए । नमस्कारको सट्टा जदौ शब्दको प्रयोग, आफ्नो नाम भन्दा पहिले थर उच्चारण, दरबार र कठोर शाषकहरुको बिरोधमा निरन्तर खबरदारी गर्नु नै उनको अराजकताको केही उदाहरणहरु हुन् । त्यसैकारण उनी धेरै पटक षडयन्त्रमा समेत परे ।

दुवै मिर्गौला प्रत्यारोपण गरेर एकदशकदेखि काठमाडौको अनामनगरको बसाइँ छाडेर मन्डिखाटारमा बसोवास गर्न पुगेका दाहाल हरेक साता सोमबार र बिहीबार राष्ट्रिय मिर्गौला केन्द्रमा डायलसिस गराउदै जीवनको रथ गुडाइरहेका थिए । बिडम्बना त के छ भने उनको बंशजमै यो रोग रहेछ । उनको पिता पनि मिर्गौलाकै रोगले बितेका हुन् । उनकी बहिनी, भाइहरु र फुपू पनि मिर्गौला रोगले पीडित छन् ।

उखानटुक्काको प्रयोगमा माहिर दाहाल नेपाललाई आवाद गर्ने आदिवासीका बोली र खस जातिको मातृभाषा नेपालीलाई समदूरीमा राखेर व्यवहार गर्नुपर्ने बताउँदै आएका थिए । मूलतः पूर्वी पहाडको सांस्कृतिक लयका विषयमा बहसको थालनी गर्ने व्यक्ती हुन् दाहाल । विशेष गरि दाहालले साहित्यलाई आम मानिसको रुचिको विषय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आए ।

दाहालको सुरुको बसाइ अनामनगर थियो । यो ‘अनामनगर’ शब्दको उत्पति नै दाहालले गरेका हुन् । बि.स. २०४२ मा नयाबस्तीको रुपमा बिकास भएको यो ठाउ सुधारका लागि १३ जनाको समिति बनेको थियो । तर उनले यो नाम राख्न खोज्दा अरुले मानेनछन् । पछि उनले बिभिन्न किसिमले यो नामलाई स्थापित गरेरै छाडे । एकपटक सरकारले कर्फ्यु लगाउनका लागि ‘अनामनगर’ शब्द प्रयोग गरेपछि उक्त नाम स्थापित हुन् पुगेको हो ।

निडर स्वभावका दाहाललाई स्वाभीमानी सर्जकका रुपमा लिइन्छ । उनको साहित्यिक लेख्न यात्रा बि.स. २०३१ सालबाट भएको हो । सुरुमा उनले लेखको कविता हो ‘उद्वेग’ तर यो कविता ‘गुन्द्रुक’ शीर्षकमा प्रकाशन भएको थियो । उनको यो कविता सम्पादन गरेर मधुपर्कमा प्रकाशन गरि दिने व्यक्ति हुन् भैरव अर्याल । कृति प्रकाशनमा भन्दा फुटकर लेखन र प्रकाशनमै लामो समय व्यतित गरेका दाहालले केही केही वर्षअघि मात्र ‘जदौका निबन्धहरू’ प्रकाशन गरेका थिए ।

नेपाल बहुजाती र बहु धर्म भएका फूलवारी भएकाले कसैले कसैलाई हेप्न नहुने भन्दै उनले साहित्य र संस्कृतीको क्षेत्रमा समानताका आवाजहरु बुलन्द गरिरहे । आज तिनै सर्जक तथा अभियन्ताको निधनसँगै नेपाली सचार जगतले एक फरक सचारकर्मी गुमाएको छ भने लोक संस्कृती क्षेत्रले सँस्कृति क्षेत्रको आवाज बुलन्द गरिरहने एक जना अभिभावक गुमाएको छ । नेपाली साहित्य क्षेत्रले भने एकजना स्रष्टा गुमाएको छ । दाहाल यज्ञनिधि आफु मरेर गए पनि मानव हितको लागि आफ्नै शरिर शिक्षण अस्पताललाई दान गरेका छन् ।

Logo