ठूला पहाडहरुको बीच भाग, सुसाउँदै गरेको भोटेकोशी नदी । स्वदेशी अनि विदेशी पर्यटकहरुको बाक्लै भिड । मृत्युलाई नै चुनौती दिदैं खेलीने रोमाञ्चक र साहसिक खेल । "/>

भोटेकोशीमा बञ्जिजम्पको मज्जा

भोटेकोशीमा बञ्जिजम्पको मज्जा


ठूला पहाडहरुको बीच भाग, सुसाउँदै गरेको भोटेकोशी नदी । स्वदेशी अनि विदेशी पर्यटकहरुको बाक्लै भिड । मृत्युलाई नै चुनौती दिदैं खेलीने रोमाञ्चक र साहसिक खेल । देख्दा डरलाग्दो र जोखिमयुक्त तर छुट्टै मजा लिन सकिने स्रोत । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी क्षेत्रमा खेलिने बञ्जि जम्पलार्ई चिनाउने विशेषता हुन् यिनीहरु ।
वि.सं.०५८ साल देखि संचालन शुरु गरिएको बञ्जिजम्प शुरुका दिनहरुमा डरलाग्दो विषय हुने गरेको भए पनि अहिले सामान्य जस्तै भईसकेको छ । यस जिल्लाको भोटेकोशी नदीवारीको साविकको मार्मिङ्ग गाविस र पारीको लिस्ती गाविसलाई जोडेर नदीमाथि बञ्जिजम्पकै लागि आर्कषक झोलुङ्गे पुल बनाईएको छ । जहाँ अहिले दैनिक सयौं पर्यटकहरुको बाक्लो उपस्थिती रहने गरेको छ ।

राजधानीबाट करिव एक सय किलोमिटरको दुरीमा रहेको यहाँ बञ्जिजम्पको मजा लिन हिजोआज देशका विभिन्न जिल्लाबाट पनि युवायुवतीहरु पुग्ने गरेका छन् । ‘पुल माथिबाट तल सुसाउँदै बगिरहेको भोटेकोशीमा हामफाल्ने काम देख्दा मुटु नै काप्ने र डर लाग्दो छदैंछ । त्यसमा पनि एउटा रबरको डोरीको भरमा झुण्डीएर खेलिने खेल । पहिलो पटक त्यहाँ पुग्नेहरुले यस्तै सोच्ने गर्छन् तर सोचेभन्दा धेरै गुणा सुरक्षित र आनन्द लिन सकिने खालको रहेछ बञ्जि ।’ राजधानीबाट यसकै लागि भोटेकोशी पुगेका आन्तरिक पर्यटक सुजन श्रेष्ठले भने– “यो पूरै सुरक्षित तरिकाले खेलिने खेल भएकाले खासै डरको अनुभूति भएन ।” उनी पहिलो पटक बञ्जिको मजा लिन आफू भोटेकोशी पुगेको र सोचे भन्दा धेरै नै आनन्ददायक रहेको अनुभव सुनाउँछन् ।

नदीनालाहरुमा खेलिने साहशिक खेलका विशेषज्ञ न्यूजिल्याण्ड नागरिक डेविट अलाडाइस र नेपाली नागरिक विष्णु न्यौपानेको सोच र करिव ५० लाखको संयुक्त लगानीमा निर्माण गरिएको यो खेल खेलाउने जिम्मा अहिले राजधानीको ठमेलमा रहेको द लास्ट रिसोर्टले लिएको छ । यहाँको बञ्जि गन्तव्य एक सय साठी मिटर लामो छ । दक्षिण एसियाकै सबैभन्दा पहिलो र विश्वकै दोस्रो प्रशिद्ध बञ्जि गन्तव्य भोटेकोशीमा यसकै कारण अहिले पर्यटक आवागमनमा पनि उल्लेख्य रुपमा वृद्धि भएको स्थानियहरु बताउँछन् । अहिले दैनिक एक सय पचास जना भन्दा बढीले बञ्जिको मज्जा लिने गरेका छन् ।

बञ्जि गर्नका लागि जसलाई पनि अनुमती दिईंदैन । उनीहरुको शारिरीक नाप जाँच पछि योग्य ठहरिने व्यक्तिले मात्र यसको मजा लिन सक्ने छन् । पहिले बञ्जि गर्ने मानिसको कम्मर र खुट्टामा विशेष किसिमको बेल्ट बाँधिन्छ । त्यसपछि उक्त बेल्टमा रबरको लामो डोरी कसिन्छ । अनि जम्पर जब जम्प गर्ने ठाउँसम्म पुग्छ, दर्शकहरु बेजोडले हुटिङ्ग गर्न थाल्छन् । जम्प गर्न भन्दा पनि हेर्न जानेहरुको संख्या धेरै हुने भएकाले उनीहरुको ताली र हुटिङ्गले भोटेकोशीको डरलाग्दो सुसाईको आवाज पनि शुन्यतातिर जान्छ । त्यसपछि जम्पर शरिरलाई फन्का मार्दै फाल हालेको दृष्य निकै नै आर्कषक देखिन्छ । ‘यसमै त छ नि बञ्जिको मजा ।’ इलाम घर भएका र बञ्जि जम्प गर्ने उद्धेश्यले यहाँ आएका देवराज निरौला भन्दै थिए । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण नेपालमा अव ¥याफ्टिङ, पर्वतारोहण, प्याराग्लाइडिङ र हिल क्लाइम्बिङका अतिरिक्त बञ्जि पनि महत्वपूर्ण र आर्कषक विषय भएको निरौलाको भनाई छ ।

देख्दा डरलाग्दो र जोखिमपूर्ण जस्तो देखिने भए पनि यसमा पूर्ण सुरक्षा अपनाइने हुँदा यो जोखिम शुन्य रहेको आयोजकहरुको भनाई छ । जम्प गर्न नेपाली नागरिकहरुका लागि करिव ५ हजार रुपयाँ लाग्छ । यसमा राजधानीबाट भोटेकाीिश सम्मको आउने जाने वसभाडा, एक दिनको खाना र बञ्जिजम्प गर्दाको भिडियो खिच्ने खर्च समेत समावेस गरिएको छ । विदेशी नागरिकहरुका लागि भने करिब ८ हजारदेखि दश हजारसम्म खर्च हुन्छ । स्थानीयलाई भने यसमा निःशुल्क प्रवेश दिइने गरिएको छ ।

३ वर्ष अघिको विनासकारी भूकम्प र त्यसअघिको जुरेको पहिरोका कारण यहाँको बञ्जिजम्प केही समय प्रभावित रहयो । अहिले भने पुनः संचालनमै छ । हिजोआज बञ्जिजम्पको सिजन हो । त्यसैले पनि यहाँ दैनिक थुप्रै आन्तरिक तथा बाहिरी पर्यटकहरुको आवतजावत भइरहने गरेको छ । यहाँको पर्यटनमा बञ्जिले ठूलो महत्व राखेको छ ।

‘जीवनमा गरिने सयौं कामहरुको सधैं सम्झना हुदैन तर बञ्जि गरिएको क्षणलाई कहिल्यै विर्सन पनि सकिदैन ।’ बञ्जि गरेकाहरु यस्तै अनुभव सुनाउँछन् । नेपालमा रहेको एक मात्र यो गन्तव्य जस्तै देशका विभिन्न भागमा पनि सम्भाव्यता रहेका ठाउँहरुमा बञ्जि जम्प गर्ने व्यवस्था मिलाउने हो भने यसकै कारण धेरै विदेशि पर्यटकहरुलाई नेपालमा भ्रमण गराउन सकिने उनीहरु बताउँछन् । देख्दा जति जोखिम त्यति नै मजा लिन सकिने भएकाले बञ्जि जस्तै अन्य साहसिक खेलहरुको पनि नेपालमा विकास गराउन आवश्यक रहेको उनीहरुको भनाई छ ।

Logo