बसाइँसराइले गाउँ सुनसान बन्दै

बसाइँसराइले गाउँ सुनसान बन्दै


बसाइँसराइका कारण पाल्पाका धेरै गाउँ सुनसान बन्दै गएका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक पूर्वाधारका अभावले यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु शहर, बजार र तराई क्षेत्रमा बसाइँसराइ जान थालेका छन् । पाल्पा रम्भा गाउँपालिका–२ फोक्सिङकोटको फोक्सिङडाँडा, भन्ज्याङथोक, कोटथर, बेलौजा, लाँबे, रानीवास, झर्लेङलगायतका स्थानीयबासी गाउँ छाडेर अन्यत्र जान थालेका छन् । बसाइँसराइका कारण अहिले यहाँ २१ घर मात्र रहेको फोक्सिङकोटडाँडाका स्थानीयवासी गणेश पछाईले बताए ।

“युवा गाउँमा एकदमै न्यून छन्, मर्दापर्दा अगाडि सरेर काम गर्ने कोही पनि युवा छैनन्, सबै अशक्त वृद्ध मात्र छौ” उनले भने । गाउँमा हाल बसोवास गरेको जनसंख्या भने ४६ जना मात्र छ । गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्यता छ । स्कुले विद्यार्थी, युवा जति सबै शहर बजारतिर बसोवास गर्न थालेका छन् । यसले गर्दा गाउँ नै रित्तिन पुगेको स्थानीयवासी सारु बताउछन् ।

सबैले गाउँ छाडेर जान थालेपछि गाउँका उर्वरभूमी खेर गइरहेका छन् । राम्रै खेती हुने जमिन अहिले वनमारा सहितको झाँडीले भरिँदै गएको छ । बढ्दो बसाइँसराइका कारण यस शैक्षिक सत्रमा नरेश प्राथमिक विद्यालको कक्षा १ मा एकजना पनि नयाँ विद्याथी भर्ना हुन नआएको शिक्षक लक्ष्मी गैरेले बताए ।
बसाइँसराइले गाउँका विद्यालय चलाउन अत्यन्तै कठिन भएको उहाँले बताए । त्यस्तै रामपुर नगरपालिका– ७ को डाँडा भेगमा पर्ने बाहुनडाँडा क्षेत्रमा पनि बसाइँसराइ बढ्दै गएको छ । यहाँ खानेपानीको समस्याका कारण गाउँ छाडेर तल बेँशीतिर झर्ने र तराईतिर जानेको आकर्षण बढ्दो छ ।

बाहुनडाँडा आसपास क्षेत्रमा पहिला एक सय भन्दा बढी घरपरिवार रहेकोमा अहिले २०/२५ घर मात्र सीमित हुनपुगेको वडा सदस्य मीनबहादुर सिञ्जाली बताउछन् । खानेपानी र सडकको अभाव तथा शिक्षा, स्वास्थ्य लगायतका समस्याले यहाँबाट स्थानीयवासी अन्यत्र जान थालेका हुन् ।

गाउँमा सामान्य आधारभूत सेवा सुविधाको पहुँच नपुगेकाले गाउँका सुन्दर बस्ती छाडेर अन्यत्र जान उनीहरु बाध्य भएका छन् । यसले गाउँमा बस्ती पातलिँदै गएर सुनसान बनेको छ भने शहर बजार क्षेत्रमा बस्तीको चाँप दिनहुँ बढ्दो छ ।

Logo