द्वन्द्वकालका घटना उचाल्न केसीको अनशन : सांसद भट्टराई

काठमाडौं

सत्तारुढ दल नेकपाका नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा.गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन् । नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दे सांसद भट्टराईले चिकित्सा शिक्षा विधेयकबारे केसीका सबै माग सम्बोधन भए पनि पछिल्लो अनशनमा द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर केसीले आफ्नो अनशनलाई नै हलुका बनाएको र विषयलाई विषयान्तर बनाएको बताएका हुन् ।

बुधबारदेखि केसीले इलाममा पुगेर १६ औं अनशन सुरु गरेका छन् । यसपटकको अनशनको मागमा द्वन्द्वकालीन घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने लगायतका माग उनले अघि सारेका छन् ।

उनले भने, ‘केसी राम्रो चिकित्सक हुन्। उनको जीवन सादगी छ । त्यो मान्छेले कसरी गल्ती बोल्छ भन्ने कहिलेकाहीं हामीलाई पनि लाग्छ । तर पछिल्लो समयमा मिडिया वा सोसल मिडियामा त्यो विषय विभाजित छ । समाजलाई बुझ्न केही समय लाग्छ भनेझैं उनको पछिल्ला अभिव्यक्तिले देखाइरहेको छ,’ सांसद भट्टराइले भने ।

विधेयकले केसीसँग भएको सहमतिको त्यही मर्म र भावनालाई कानुनीरूपमा सम्बोधन गरेको मात्र भएकाले यसमा कोकोहोलो मच्चाउन पर्ने आवश्यकता नभएको भट्टराईको दाबी छ । उनले समितिबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे सही सूचना लिन आग्रह गरेका छन् ।
नागरिकबाट