ढुकुटी रित्याउने गजबको काइदा, दुई अर्ब खर्चिएपछि कार्यक्रम नै खारेज !

ढुकुटी रित्याउने गजबको काइदा, दुई अर्ब खर्चिएपछि कार्यक्रम नै खारेज !


काठमाडौं । गरीब र गरिबीका नाममा सरकारी र गैर सरकारी तहबाट कतिसम्म मनपर्दी योजना–कार्यक्रम आइरहेका छन्, कतिसम्म रकमको दोहोलो भैरहेको छ भन्ने उदाहरण पछिल्लोपटक गरीब घरपरिवार सहयोग तथा समन्वय बोर्डको सचिवालयले देखाएको छ ।

हाल पुर्व प्रधानमन्त्री बीपी कोइरालाका छोरा श्रीहर्ष कोइराला कार्यकारी उपाध्यक्ष रहेको र राजनीतिक भर्तिको केन्द्र रहीआएको यो सरकारी निकाय गठन भएको ४ बर्षमा अध्यन र स्थलगत रिपोर्ट बनाउने नाममैं २ अर्व रुपैंया खर्च भैसकेको छ । पहिलो चरणमा देशभरका २५ जिल्लामा रहेका झण्डै ४ लाख गरीब परिवार (२० लाख व्यक्ति) लाई गरिबी परिचय पत्र दिने र त्यही अनुसारको सेवा–सुविधा दिने भनेर प्रचार गरिएको सरकारी कार्यक्रममा सरकार फेरिएपिच्छे ४ जना कार्यकारी उपाध्यक्ष फेरिएका छन् भने बाँकी कर्मचारी पनि तथ्यांक बिभाग र अन्यत्रबाट काजमा लिएर कामचलाउ योजना हाँकिएको अवस्था छ ।

संघीय राज्यको स्वरुपमा अब गरिबी निवारण मन्त्रालय नरहेर कुनै मन्त्रालयमा शाखा मात्रै रहने निर्णय आयसकेकाले राज्य कोषबाट भएको करोडौं रुपैंयाको हिसाबकिताब अहिले खोज्न थालिएको छ । मुलुकमा रहेको झण्डै २३ प्रतिशत अनुपात गरिबी हटाउनै भनेर २०६१ सालमा गठन भएको गरिबी निवारण कोष पनि भ्रष्टाचारको विवादमाझ कामचलाउ रुपमा मात्रै अघि बढिरहेको छ । यो कोषले पनि स्थापनाको १३ बर्षमा २ सय लाख अमेरिकी डलर गरिबी निवारणकै नाममा खर्च गरिसकेको छ । तर, उपलब्धी भने केही देखिन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकमा तत्कालका लागि गरीब घरपरिवार सहयोग तथा समन्वय बोर्डको सचिवालय खारेजीका साथै गरिबी निवारण कोष, युवा स्वरोजकार कोष, गरीबसँग बिश्वेश्वर कार्यक्रमको पुर्नसंरचना गरिने मनसायमा कार्ययोजना तयार गर्न मुख्यसचिवलाई निर्देशन दिएका छन् । युवा स्वरोजकार कोष र गरीबसँग विश्वेश्वर कार्यक्रममा मात्रै ५० करोड रुपैंयाभन्दा बढी बजेट हरेक बर्ष छुट्ट्याइने गरेको छ । तर, यी सबै सरकारी कार्यक्रमले गरिबी निवारणका नाममा ठूला होटलहरुमा गोष्ठी गर्ने र गरीबलाई बाख्रा वा सुँगुर पालनमा सहयोग दिने परम्परागत कार्यक्रम गर्दै आएका छन् ।

Logo