रानीपोखरी विज्ञ समूहबाट थप दश दिन माग

रानीपोखरी विज्ञ समूहबाट थप दश दिन माग


काठमाडौँ, २७ पुस |

रानीपोखरी पुनःनिर्माणका सम्बन्धमा गठित विज्ञ समूहले प्रतिवेदन बुझाउन थप दश दिनको समय अवधि माग गरेको छ ।

प्रतिवेदन बुझाउने मिति आज भए पनि तयारी प्रतिवेदन सर्वसाधारणलाई पनि देखाउनुपर्ने भएकाले थप समय माग गरिएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदन लगभग तयार भइसकेको छ । 

रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गरिएको थियो । सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिनेछ । प्रताप मल्लकालीन शैलीमै रानीपोखरीको पुनःनिर्माण गरिने निर्णय भइसकेको छ ।

विसं २०७२ को भूकम्पले करिब ३५० वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । ऐतिहासिक रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा हुनुपर्ने सर्वसाधारणले माग गरेको विज्ञ समूहका सदस्य शर्माले बताउनुभयो । राजा प्रतापमल्ल(राज्यकाल विसं १६९८–१७३१)ले छोरा चक्रपालेन्द्रको मृत्युमा शोकपीडित रानीलाई सान्त्वना दिनका लागि विसं १७२७ मा पोखरी निर्माण गरेका थिए । 

सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रिय सभागृहमा इमेल र टेलिफोनमार्फत आआफ्ना सुझाव दिएका थिए । देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ मा रहेको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो । रासस

Logo