सेक्सको लाइन, भ्याउने कुरा

सेक्सको लाइन, भ्याउने कुरा


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ कात्तिक ।

अहिले राजधानीको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा लागिरहेको नाटकको नाम हो— लाइन ।

अमेरिकी नाटककार इजरेल होरोभित्जले लेखेको नाटकको नेपाली रूपान्तरण र प्रस्तुति कति सशक्त छ भने डेढ घण्टा समयावधिको नाटकमा नेपाली समाज, जीवन र आम प्रवृत्ति पनि उत्रिएको छ ।

आकांक्षा कार्कीको अनुवाद/निर्देशनमा बनेको ‘लाइन’ मा रंगमंचमा चिनिएका कलाकारहरू राजकुमार पुडासैनी, लुनिभा तुलाधर, सुदामा सिके, सन्देश शाक्य र सरोज अर्याल मन्चमा उसै गरी छाएका छन् ।

अरूभन्दा पनि सेक्सका मामिलामा ‘भ्याउने, भर्खरै भ्याएको, दुईपटक भ्याएको’ जस्ता ठाडो शब्द प्रयोग गरेर पनि नाटकमा अश्लीलता देखिन्न । जीवनमा प्रथम हुनैपर्ने होडबाजी कतिसम्म छ भने यो लाजलाग्दो पनि बनिसकेको छ ।

आश्वासनले हुन्छ कि भरथेग गरेर हुन्छ, अथवा केही लोभ देखाएर हुन्छ कि सेक्सको उपायबाटै हुन्छ— जसरी भए पनि प्रथम हुनैपर्ने सामाजिक परिस्थिति बडो गज्जबको छ । झण्डै डेढ घण्टाको नाटकमा दर्शक एक मिनेट पनि झिँझो मान्दैनन् ।

मंसीर ३ गतेसम्म चल्ने नाटकका लागि अधिकांश शोहरू अग्रिम बुकिङ भैसकेको खबर पनि उत्तिकै रमाइलो हुन सक्छ, यसबेला ।

Logo