काँग्रेसको चुनावी मिडिया सेन्टर स्थापना

काँग्रेसको चुनावी मिडिया सेन्टर स्थापना


काठमाडौं, २२ कात्तिक ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ ।

आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा १५४ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिटमा ३१० स्थानमा उम्मेदवारी दिएको अवगत गराउँदै पार्टीका नेता खाँणले भने, “तसर्थ काँग्रेसले प्रत्यक्षतर्फको निर्वाचनमा ५५ प्रतिशत र समानुपातिक निर्वाचनतर्फ ४५ प्रतिशत मत ल्याउने निश्चित छ ।”

पार्टी केन्द्रीय सदस्य एवं काँग्रेस प्रचारप्रसार समन्वय उपसमितिका संयोजक समेत रहेका नेता खाँणले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ६०–४० प्रतिशतको भागबण्डा गरेर उम्मेदवारी दिई दुईतिहाई बहुमत ल्याउँछु भन्नु हास्यास्पद हो भने ।

निर्वाचन लोकतन्त्रलाई स्थायित्व गर्ने र कम्युनिष्ट शासन स्थापना गर्नेबीचको जनमत संग्रह भएको धारणा व्यक्त गर्दै नेता खाँणले भने, “स्वतन्त्र पत्रकारिताका लागि पनि मुलुकमा लोकतन्त्र अपरिहार्य छ ।”

पार्टीले निर्वाचनको तयारीका लागि केन्द्रमा आज आधुनिक मिडिया सेन्टर स्थापना गरेको छ । साथै एक दुई दिनमै प्रदेश नं १ को इटहरीमा, प्रदेश नं दुईको जनकपुर र वीरगंजमा, प्रदेश नं ३ को चितवनमा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा स्थापना गर्ने जनाएको छ ।

कार्यक्रममा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डेले संविधानले व्यवस्था गरेको बहुलवाद र लोकतान्त्रिक व्यवस्था उल्ट्याउन आसन्न निर्वाचनमा कम्युनिष्ट दलहरुले गठबन्धन गरेको टिप्पणी गर्दै काँग्रेसले ढृढताका साथ संविधानको रक्षा गर्ने बताए ।

निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि काँग्रेसले ताप्लेजुङ, पाँचथर र सोलुखुम्बुबाट चुनावी आमसभा यही कात्तिक २५ गतेदेखि थालनी गर्ने र आमसभामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाएको छ ।

कार्यक्रममा पार्टी नेता एवं वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, पार्टीका नेताहरु सुरेन्द्र पाण्डे, मानबहादुुर विश्वकर्मा, डा डिला संग्रौलालगायतको उपस्थिति थियो ।

Logo