क्याटालोयिनका नेताद्वारा बेल्जियममा आत्मसमर्पण

क्याटालोयिनका नेताद्वारा बेल्जियममा आत्मसमर्पण


ब्रसेल्स, २० कात्तिक । क्याटालोनियाका नेता कारलस पुज्दमोन र उनीसँगै रहेका अन्य पाँच जना नेताले बेल्जियममा आत्मसमर्पण गरेको समाचार छ । उनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेको अधिकारीहरुले बताएका छन् ।

स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्दमोनले यसअघि आफू र अन्य पाँच नेताविरुद्धमा लगाइएको आरोपका बारेमा बेल्जियमको अदालतबाटै सहयोग लिन चाहेको बताएका थिए ।

उनले ट्वीट गर्दै ‘पक्राउ गर्नका लागि स्पेनले पत्राचार गरेको अवस्थामा हामी बेल्जियमको अदालतसँग सहयोग लिन तयार रहेका छौँ’ भनी लेखेका थिए ।

पुज्दमोनसहितका पाँचैजना नेताहरु केही दिनयता बेल्जियममा बसिरहेका छन् । उनीहरु विरुद्ध स्पेनी सरकारले युरोपेली युनियनका कुनै पनि देशमा पक्राउ गर्नसक्नेगरी पुर्जी जारी गरेको थियो ।

उनीसँग क्याटलान सरकारका अन्य चार मन्त्री पनि छन् । उनीहरु सबैजनाले सोमबार बेल्जियमको प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ ।

उनीहरुले आत्मसमर्पण गरेपछि बेल्जियम सरकारले उनीहरुलाई स्पेन सरकारलाई बुझाउने वा के गर्ने भन्ने बारेमा अहिले नै केही भनेको छैन । यस विषयमा निर्णय आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।

आफूहरुलाई पक्राउ पुर्जी जारी गरिएको विरुद्धमा उनीहरुलाई अपील गर्ने अधिकार रहेको भए पनि अपिल गर्ने वा नगर्ने भन्ने बारेमा उनीहरुले केही बताएका छैनन् ।

पुज्दमोनको नेतृत्वमा क्याटालोनियाले जनमत संग्रह गरी स्पेनबाट स्वतन्त्र भएको निर्णय गरेको भन्दै स्पेनले क्याटालान सरकारका प्रमुख पुज्दमोनलाई केही दिनअघि बर्खास्त गरेको थियो ।

उनीहरुलाई देशद्रोह, विद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । स्पेनको केन्द्र सरकारको अनुमतिबिना नै जबर्जस्ती जनमत संग्रह गराएर देशको सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोग उनीहरुलाई लागेको छ । एजेन्सी

Logo